तिनाउमा विशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिविर

विजयकुमार बौडेल

११ चैत्र – तिनाउ गाउँपालिकामा विशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । मेडिटेक इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेण्टर बुलवलको सहयोगमा तिनाउ गाउँपालिकाले विशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

शिविरमा फिजिसियन विशेषज्ञ डाक्टर शम्भु खनाल, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर गोपाल प्रसाद ज्ञवाली, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सतिष रुपाखेतीले नागरिकहरुको स्वास्थ्य परिक्षण गर्नुभएको हो । त्यस्तै नाक, कान, घाँटी रोड विशेषज्ञ डाक्टर प्रकाश बस्नेत, सर्जरी रोग विशेषज्ञ डाक्टर भुवन पौडेल, अल्ट्रासाउण्ड विशेषज्ञ डाक्टर रामचन्द्र पौडेलले स्वास्थ्य परिक्षण गर्नुभएको हो ।

शिविरमा निशुल्क स्वास्थ्य जाँच, निशुल्क औषधी वितरण, सिविसी, ग्लुकोज, क्रियटाईन, एसजिपिटी, कोलेस्ट्रोल, यूरिक एसिड, आरए फ्याक्टर लगाएतको निशुल्क ल्याव परिक्षण, निशुल्क इसिजी र निशुल्क अल्ट्रासाउण्ड गरिएको स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीले बताउनुभयो । सबै वडाका गरि ६ सय ५७ जनाले सेवा लिएका प्रमुख कार्कीले बताउनुभयो ।

तिनाउ गाउँपालिका वडा नं. २ दोभान स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले यति धेरै विविध सेवासहितको शिविर सञ्चालन कार्यक्रम विरलै मात्र आयोजना हुने र यस्ता कार्यक्रमले नागरिक स्तरमा स्थानीय तहको समाजप्रतिको उत्तरदायित्व, भूमिका र स्वास्थ्यप्रतिको सजगतालाई थप मजबुत बनाउने बताउनुभयो ।

तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले शिविरको आयोजना गरेर समुचित उपचारबाट बञ्चित रहेका महिला, पुरुषहरुलाई उपचार गरी औषधीसमेत उपलब्ध गराएको बताउनुभयो । नागरिक र स्थानीय तहबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने र आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित विपन्न वर्गमा विरामीलाई सुलभ किसिमले स्तरीय सेवा दिने उदेश्यले आयोजित निःशुल्क स्वास्थ्य शिविरले अपेक्षित उदेश्य हासिल गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय