विजयकुमार बौडेल –
११ चैत्र – सडकबत्ति बाल्नका लागि मदनपोखराका यूवाले श्रमदान गरेका छन् । नयाँपाटी मदनपोखरा सडकमा बत्ति बाल्नका लागि मदनपोखराका यूवाले स्वतस्फुर्त रुपमा श्रमदान गरेका हुन् ।
तानसेन नगरपालिका वडा नं. ८ मा पर्ने नयाँपाटी मदनपोखरा सडकखण्डमा रातीको समयमा अध्यारो हुँदा आवतजावत गर्ने नागरिकहरुलाई अप्ठेरो भएकाले सडकबत्ति बाल्न यहाँका यूवाले विद्युत पोल गाड्न श्रमदान गरेका हुन् । यूवाहरुले स्वतस्फुर्त रुपमा अध्यारो हुने घुम्टी क्षेत्रमा ६ वटा पोल गाडेका हुन् ।
आआफ्नो घर क्षेत्रबाट पोलको व्यवस्थापन गरेर यूवाहरुले विद्युतपोल गाडेका हुन् । अव तार जडान र सडक बत्तिका लागि वडा कार्यालयसंग समन्वय गर्ने यूवा अगुवा राजेन्द्र भण्डारीले बताउनुभयो । भण्डारीले अव सडकबत्तिको व्यवस्थाका गरि त्यसको दिर्घकालिन संरक्षणका लागि यूवाहरु सक्रिय रुपमा लागिपर्ने बताउनुभयो । रातीको समयमा आवतजावत गर्दा जंगली जनावरको आक्रमण हुने डर हुने भएकाले पोलको व्यवस्थापन गरि यूवाहरुको सक्रियतामा पोल गाडिएको मदनपोखराका सक्रिय यूवा स्याम बहादुर जिसीले बताउनुभयो ।
अव विद्युत र बत्तिको व्यवस्थापन गरि सडकबत्ति बाल्ने तथा सडकको सुन्दरताका लागी सरसफाई र हरियालीका लागि सडकछेउ वृक्षारोपण गर्ने समेत योजना रहेको स्थानीय यूवा सुजन भट्टराईले बताउनुभयो । हरेक साना साना काम गर्न स्थानीय सरकारको मुख ताक्ने र सामाजिक जिम्मेवारी वहन नगर्नेहरुका लागि उदाहरणीय कामको सुरुवात गरेको स्थानीय यूवा श्रवण लम्सालको भनाई छ ।
तानसेन नगरपालिका वडा नं. ८ का वडाध्यक्ष सोमनाथ अर्यालले यूवाहरुको सक्रियतामा पोल गाड्ने काम सम्पन्न भएकोमा धन्यवाद व्यक्त गर्नुभयो । वडाध्यक्ष अर्यालले अव ति पोलहरुमा सडकबत्ति बाल्नको लागी वडा कार्यालयले प्रक्रिया अघि बढाउने बताउनुभयो । अर्यालले वडाको बजेट विनियोजन कार्य अघि बढिसकेकाले अन्य वैकल्पिक व्यवस्था गरि सडकबत्ति बाल्न सक्रियता पुर्वक लागिपर्ने बताउनुभयो ।
नयाँपाटी मदनपोखरा सडकखण्डमा सडकबत्ति नहुँदा आवतजावत गर्नेहरुलाई समस्या परेको भन्दै अव चाँडै त्यसको समाधान हुने विश्वास लिएको स्थानीय रुम बहादुर गौतमले बताउनुभयो ।