विजयकुमार बौडेल –
६ चैत्र – नेकपा एमालेका पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले एमालेले बनाएको नीतिका कारण नेपालका ग्रामिण क्षेत्रमा बजेट आउने प्रचलनको सुरुवात भएको बताएका छन् ।
नेकपा एमालेको केन्द्रिय निर्देशन अनुसार तानसेन ८ को चाउरीपोखरामा सञ्चालन भएको मिसन ग्रासरुट कार्यक्रममा बोल्दै नेता भट्टराईले देशमा भएको नविनतम कार्यक्रमको सुरुवात एमालेले गरेको भन्दै देश विकासको खाका एमालेसंग मात्र भएको बताए । नेता भट्टराईले मुलुकको आर्थिक समृद्धिका लागि एमालेलाई जनताले मतदान गरेको भएपनी विदेशी शक्ति लागेर अपवित्र गठबन्धन गरि नेपाललाई गलत दिशातर्फ धकेल्ने काम भएको बताए ।
नेता भट्टराईले पार्टीले आधारभूत एकाइका रूपमा रहेको पार्टी सदस्यहरूबीच पार्टी केन्द्र पुग्ने र जोडिने अभियानका रुपमा मिसन ग्रासरुट अभियान सञ्चालन भएको बताए । अभियानअन्तर्गत पार्टी सदस्यता नवीकरण र विस्तारमार्फत आधारभूत तहका पार्टी सदस्यको वास्तविक तथ्यांक र पार्टीको अवस्था पत्ता लगाउने, आधारभूत राजनीतिक, सैद्धान्तिक प्रशिक्षण दिने कार्यक्रम रहेको भट्टराईले बताए ।
कार्यक्रममा प्रदेशसभा सदस्य खेम बहादुर सारुले राष्ट्र र राष्ट्रियताको पक्षमा नेकपा एमाले सधै उभिएको बताए ।
सारुले स्थानीय स्तरको विकासका लागि प्रदेशसभा मार्फत पहल गर्ने र जनताको जनजिविकासंग जोडिएका विषय संसदमा उठाउने प्रतिवद्धता व्यक्त गरे । सारुले स्थानीय तहमा उत्पन्न र हुन सक्ने अन्तर्विरोधको पहिचान गर्ने, पार्टी र जनप्रतिनिधिबीच वैचारिक, राजनीतिक र संगठनात्मक एकरूपता, पार्टीमा सम्भावनायुक्त नयाँ पुस्ताको पहिचान, नेता–कार्यकर्ता र पार्टी–जनता सम्बन्ध सुदृढ गर्ने एमालेको योजना रहेको बताए ।
कार्यक्रममा नेकपा एमाले तानसेन नगर कमिटिका अध्यक्ष गुरास आत्रेयले पार्टी सुदृढिकरण र यसको संरचना कायम राख्न पार्टीको आधारभूत तह बलियो हुनुपर्ने बताए । आत्रेयले कृषक र जनताको आधारभूत समस्याका बारेमा नेकपा एमालेले सधै आवाज उठाएको बताए । कार्यक्रममा तानसेन ८ का वडाध्यक्ष सोमनाथ अर्याल, सन्तोष पृथी, सुधिर सोमै, अनिता मिधुन, बिमला बौडेल, मुकुन्द चिदी, दुर्गा खाँड ठकुरी, राम प्रसाद घिमिरे, पदम बहादुर घर्तीलगाएतले स्थानीय स्तरमा नेकपा एमालेले जनताका समस्या समाधानका लागि पहल गर्नुपर्ने र जनजिविकाका विषय उठान गर्नुपर्ने बताएका थिए ।