विजयकुमार बौडेल –
२४ फागुन – माथागढी गाउँपालिका वडा नं. ३ सराईमा अस्थाई प्रहरी चौकी स्थापना हुने भएको छ ।
माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले समाजमा हिंसा न्यूनीकरण एवं शान्ति सुरक्षा कायम गर्न नागरिक–प्रहरीबीचको सहकार्य आवश्यक रहेको भन्दै अस्थाई प्रहरी चौकी स्थापना गर्न लागिएको बताउनुभयो । माथागढी वडा नं. ३ का वडाध्यक्ष तेज घर्तीमगरले प्रहरी चौकी स्थापना हुन लागेकोमा खुसी व्यक्त गर्दै स्थानीय सरकारले आगामी दिनमा प्रहरी चौकीको भौतिक पूर्वाधारजस्ता काममा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
गाउँपालिका अध्यक्ष चिदीले जनताको शान्ति सुरक्षाका लागि बर्दी लगाएका प्रहरीलाइ बर्दि नलगाएका सुरक्षा सिपाही नागरिकहरुले समयमै सूचना दिएर सहयोग गर्नुपर्ने बताउनुभयो । चिदीले गाउँघरमा भएका घटनाहरुको समयमै प्रहरीलाइ जानकारी दिएर असल नागरिकको परिचय दिन नागरिकहरु लाग्नुपर्ने बताउनुभयो ।
गाउँपालिका अध्यक्ष चिदीले प्रहरीका लागि पालिकाबाट गर्न सक्ने सहयोग निरन्तर गर्दै जाने बताउनुभयो । जनताको धनजनको सुरक्षा, अपराध नियन्त्रण गर्न प्रहरी चौकीको आवस्यकता भएको भन्दै अध्यक्ष चिदीले चौकी स्थापनापछि माथागढी गाउँपालिकाको सराई, खहरे, चिदीपानीलगाएतका जनताले सेवा पाउने बताउनुभयो ।
अध्यक्ष चिदीले चौकी स्थापनाले गाउँपालिका भित्रको सुरक्षाा प्रबन्ध र स्थानीय जनताको शान्ति सुरक्षामा टेवा पुग्ने बताउनुभयो । गाउँपालिकाको पहलमा नै चौकी स्थापना हुने भएको बताउँदै अध्यक्ष चिदीले जनता र स्थानीय सरकार प्रहरीको सधै साथमा रहने धारणा राख्नुभयो ।