मगर एकता दिवसका अवसरमा नौ विद्यार्थीलाई बर्षभरी पढाउने निरेन्द्रको घोषणा

विजयकुमार बौडेल

१६ फागुन – बगनासकालीका एक सक्रिय समाजसेवी यूवाले सामुदायिक विद्यालयमा पढ्ने अतिविपन्न नौ जना बिद्यार्थीलाई बर्षभरी पढाउने जिम्मेवारी लिएका छन् ।

बगनासकाली गाउँपालिका –९ मा बसोवास गर्दै आएका यूवा समाजसेवी निरेन्द्र मगरले ४१ औं मगर एकता दिवसका अवसरमा गाउँपालिकाको सामुदायिक विद्यालयमा पढ्दै गरेका अति विपन्न परिवारका बालबालिकालाई पढाउने जिम्मेवारी लिएका हुन् । मगरले बगनासकाली गाउँपािलकाका ९ वटै वडाका १/१ जना विद्यार्थी गरी ९ जनालाई बर्षभरी पढाउने जिम्मेवारी लिएको बताए । मगरले मगर एकता दिवसका अवसरमा बगनासकालीको चिलाङ्दीमा आयोजित एक कार्यक्रममा विद्यार्थीको जिम्मेवारी लिने घोषणा गरेका हुन् ।

मगरले नौ जना विद्यार्थीलाई बर्षभरी आवश्यक पर्ने कापी, किताब, कलम, अन्य स्टेशनरी, ड्रेस, परिक्षा शुल्कलगाएत सबै खर्च व्यहोर्ने बताएका छन् । पारिवारिक अवस्था नाजुक भएका विद्यार्थीहरुका लागी उनीहरुको शिक्षादिक्षाका लागि आफूले अभिभावकीय जिम्मेवारी लिएको मगरले बताए । मगर एनआरए ईञ्जिनियरिङ कन्सल्टेण्ट प्रा.लि. का सञ्चालक समेत रहेका छन् ।
“आफूले विद्यालयमा पढ्दा भोगेको जस्तै समस्या अरुले भोग्नु नपरोस् भनेर आर्थिक क्षमताले भ्याएसम्म बिद्यार्थीलाई पढाउने जिम्मेवारी लिएको हुँ” – मगरले भने ।

उनले नौ जना बिद्यार्थीका लागि बार्षिक रुपमा पोशाक, आवश्यक स्टेशनरी लगायत अन्य आवश्यक खर्च सहयोग गर्ने गरी घोषणा गरेको बगनासकाली गाउँपालिकाका प्रवक्ता टिका बहादुर थापाले जानकारी दिए ।

मगरले आउने वैशाख बाट सुरु हुने शैक्षिक सत्र देखी विद्यार्थीको जिम्मेवारी लिने बताए । उनले आगामी बर्षहरुमा पनी यसलाई निरन्तरता दिँदै जाने बताए । आर्थिक अवस्था सवल भएका नेता, कर्मचारी, समाजसेवी, अधिकारकर्मी, सञ्चारकर्मी, व्यवसायी सबैले विपन्नहरुलाई पढ्नबाट बञ्चित हुन नदिन सहयोगको अभियान नै सञ्चालन गर्नुपर्ने मगर बताउँछन् ।

सानै उमेरमा व्यवसायसँगै समाजसेवामा पनि सक्रिय रहेका ३० बर्षीय मगरले यस अघि पनि धेरै दुःखीहरुका लागि सहयोग गरिसकेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय