
पाल्पा – १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि तानसेनले जितेको छ । १६ स्वर्णसहित ४५ पदक जितेर तानसेनले जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि चुमेको हो । तानसेनले १६ स्वर्ण, १७ कास्य र १२ रजत पदक प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक घिमिरेले जानकारी दिनुभयो ।
यस्तै रामपुर नगरपालिका २२ पदकसहित प्रतियोगितामा उपविजेता बनेको छ । रामपुरले ६ स्वर्ण, ६ कास्य र १० रजत पदक प्राप्त गरेको छ । यस्तै तिनाउ गाउँपालिका तेस्रो बनेको छ । तिनाउले ५ स्वर्ण, ७ कास्य र ४ रजत गरी १६ पदक प्राप्त गरेको छ । सान्तवना माथागढी गाउँपालिका बनेको छ । माथागढीले ५ स्वर्ण, तीन कास्य र ७ रजत गरी कुल १५ पदक पाएको छ । यस्तै रम्भाले ४ स्वर्ण, ३ कास्य र ४ रजत गरी १० पदक हात पारेको छ ।
यस्तै पूर्वखोलाले ३ स्वर्ण, ४ कास्य र ५ रजत पदक गरी १२ पदक पाएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । यस्तै रैनादेवी छहराले २ स्वर्ण, २ कास्य र ३ रजत गरी ७ पदक पाएको छ । यस्तै बगनासकालीले १ स्वर्ण, २ कास्य र ७ रजत पदक पाएको छ भने रिव्दीकोटले १ स्वर्ण, १ कास्य, २ रजत पाएको छ । यस्तै निस्दी गाउँपालिकाले १ स्वर्ण र रजत ५ पदक पाएको जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष तिलक थापाले जानकारी दिनुभयो ।
समापन समारोहमा बोल्नुहुँदै प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य नारायणप्रसाद आचार्यले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताले स्थानीय स्तरमा खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताउनुभयो । देशको अवस्था अनुसार राज्यको लगानी खेल क्षेत्रमा सन्तोषजनक मान्नुपर्ने भन्दै उहाँले सङ्घ, प्रदेश र स्थानीय सरकार मिलेर खेल क्षेत्रको विकास गर्न सकिने धारणा राख्नुभयो । कार्यक्रममा विशिष्ट अतिथि एवं प्रदेश सभा सदस्य खेमबहादुर सारुले खेल क्षेत्रबाट पर्यटन प्रबद्र्धन गर्न सकिने धारणा राख्नुभयो । उहाँले माथागढीको सराई क्षेत्रलाई जिल्लाकै नमूना खेलमैदानका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै लुम्विनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले खेल क्षेत्रको विकासका लागि खेल शिक्षक तथा खेल प्रशिक्षण विद्यालयसम्म पुग्नुपर्नेमा जोड दिनुभयो । उहाँले खेल क्षेत्र अहिले पनि राज्यबाट उपेक्षामा परेको भन्दै त्यसलाई सरकारले महत्व दिएर मात्र खेल क्षेत्रमा विकास गर्न सकिने धारणा राख्नुभयो ।
कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले खेलकुद क्षेत्रको विकासमा पालिकाले विशेष ध्यान दिने उल्लेख गर्नुभयो । उहाँले स्थानीय बासिन्दाको सहयोगले रनिङ्ग शिल्ड प्रतियोगिता सफल भएको बताउनुभयो । कार्यक्रममा माथागढी गाउँपालिका वडा नं. १ का अध्यक्ष राजकुमार पन्थी, तानसेन वडा नं. ९ का अध्यक्ष राजेशकुमार अर्याललगायतले विजयी खेलाडीलाई बधाई तथा शुभकामना दिनुभयो ।
प्रतियोगितामा छात्राछात्रबीच एथलेक्टिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्डोलगायतका खेल भएको थियो । जिल्ला स्तरीय प्रतियोगितामा प्रथम हुने खेलाडी र समूह प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी खेलकुद विकास समितिका कार्यालय प्रमुख खुमबहादुर बयम्बुले जानकारी दिनुभयो । पाल्पामा तानसेनभन्दा बाहिर माथागढी गाउँपालिकाको सराई खेल मैदानमा पहिलो पटक प्रतियोगिता भएको हो ।
समापन समारोह खेलकुद विकास समितिका अध्यक्ष दिपक घिमिरेको अध्यक्षता र भरत शर्माको संचालनमा सम्पन्न भएको हो । खेलमा ५०० खेलाडी, ५० खेल प्रशिक्षक तथा ५० आयोजक गरी ६०० बढीको सहभागिता रहेको थियो ।