पाल्पामा भव्य रुपमा मनाईयो महाशिवरात्री (फोटोफिचर)

विजयकुमार बौडेल –
७ फागुन – हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि आज पशुपतिनाथसहित देशभरका शिवालयहरुमा भगवान शिवको पूजाआजा गरी मनाइएको छ । यसैबीच पाल्पाका विभिन्न स्थानमा समेत महाशिवरात्री पर्व धुमधामका साथ मनाईएको छ ।

पाल्पाको प्रभाष, तानसेन, रामपुरलगाएतका क्षेत्रमा शिवरात्री मनाईएको छ । तानसेन ७ प्रभाषमा कृषी प्रदर्शनी सहित शिवरात्री मेला मनाईएको छ । मेलामा जिल्लाका विभिन्न किसानहरुले आफ्नो उत्पादन प्रदर्शन गरेका थिए । मेलामा घरेलु उत्पादनका विभिन्न सामग्री समेत बिक्रिका लागी राखिएकाे तानसेन नगरपालिका वडा नं. ७ का वडाध्यक्ष प्रदिप खनालले जानकारी दिनुभयो ।

कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ । व्रतमा सर्वोत्तम व्रतका रुपमा लिइने यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप्ने गरेमा सर्वसिद्ध भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । 

शिवको अति प्यारो दिनका रूपमा आजको दिनलाई लिने गरीन्छ । शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने प्राचीन जनविश्वास छ । शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ । 

आज पाल्पाका विभिन्न शिवालयहरूमा दर्शनार्थीहरूको विहानै देखि घुइँचो लागेको छ । यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

आज निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय