
विजयकुमार बौडेल –
१४ माघ – नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले नेकपा एमालेलाई लागेको प्रतिगमनको आरोप प्रतिनिधी तथा प्रदेशसभा निर्वाचन २०७९ मार्फत जनताले खारेज गरिदिएको बताएका छन् ।
नेता ज्ञवालीले प्रेस चौतारी नेपाल, पाल्पा शाखाले तानसेनमा आयोजना गरेको चौतारीका पाहुना कार्यक्रममा बोल्दै जनताले पहिलो पार्टी बनाएर एमालेलाई लागेको प्रतिगमनको आरोप खारेज गरिदिएको बताएका हुन् । “गठबन्धनको बलमा कांग्रेस पहिलो भएपनी अहिले जनताको रोजाईको पहिलो पार्टी नेकपा एमाले बन्यो ।” ज्ञवालीले भन्नुभयो ।
नेता ज्ञवालीले मुलुकको राजनीति तिब्र गतिमा अघि बढिरहेको बताउँदै अहिले राजनैतिक स्थिरता कायम गर्न सबैभन्दा ठुलो चुनौती भएको बताउनुभयो । “अहिलेको नयाँ सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रमले गति दिने विश्वास छ, नयाँ सरकार आएपछी आर्थिक विकासको सकारात्मक प्रभाव देखिएको छ ।” नेता ज्ञवालीले भन्नुभयो, “पहिलेको प्रदेश र संघिय सरकारलाई कार्यकर्ता भर्ती केन्द्रको रुपमा स्थापित गरिएको थियो, अहिलेको सरकारले त्यसलाई सच्याएको छ । यसले पनी आर्थिक भार कम हुन्छ ।”
नेता ज्ञवालीले देशको सबैभन्दा ठुलो समस्या राजनैतिक अस्थिरता भएको भन्दै यसले हरेक प्रकारका विकासमा चुनौति थपेको बताउनुभयो । पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै नेता ज्ञवालीले राजनीति भनेको जसरी पनी सरकारमा जाने, छिर्के लाउने हो भन्ने मान्यता अहिलको सरकारले तोडेको बताउनुभयो । “लथालिंग भएको राजनीतिलाई ट्रयाकमा ल्याउने काम अहिले नेकपा एमालेले गरेको छ, राजनीति विश्वासले चल्ने कुरा हो, ईमान्दारिता र निष्ठा ठुलो कुरा हो ।” नेता ज्ञवालीले भन्नुभयो, “शक्तिहिनहरु एक हुनु त स्वभाविक हुन्थ्यो, निर्वाचनमा सत्ताधारीहरुले प्रतिपक्षका विरुद्ध गठबन्धन गर्नु विश्वमै नभएको घटना नेपालमा भयो, नेकपा एमालेका विरुद्ध ठुलो घेराबन्दी भयो ।”
नेता ज्ञवालीले अहिलेको परिस्थितीमा नेपाली कांग्रेस सहितको सरकार बन्नु नेकपा एमालेका लागी दुईवटा डुंगामा खुट्टा राखेर हिँड्ने काम भएको बताउनुभयो । ज्ञवालीले राजनीतिमा हरेक खालका संभावना भने जिवितै रहने भन्दै कांग्रेस संग वार्ताको ढोका खुल्ला रहेको बताउनुभयो ।