पुर्वखोलाको एकिकृत घुम्ति स्वास्थ्य शिविर प्रभावकारी

विजयकुमार बौडेल

१४ माघ – पुर्वखोला गाउँपालिका वडा नं. ३ रिङ्नेरहका ७० बर्षिय भिम बहादुर सारुले आफ्नै टोलमा आँखा जाँच गरेर चस्मा पाएपछी खुशी भएका छन् । “धमिलो देखेर दैनिक कामकाज गर्न निकै गाह्रो हुन्थ्यो, आँखा चिलाएर हैरान हुन्थ्यो, तानसेन आउजाउ गर्न बुढो शरिरलाई झन दुख ।” सारुले खुशी हुँदै गाउँमै शिविर आउँदा खुव गज्जव भएको बताए ।

पुर्वखोला ३ रिङ्नेरहकै ९० बर्षिय तुल बहादुर पाटाले पनी आफ्नो घरनजिकै आँखा जाँच गर्न पाएकोमा खुशी व्यक्त गरे । “यो बुढेसकालमा ओखती गर्न तानसेन आउजाउ गर्न खुब दुख हुन्थ्यो, एकाविहानै गाडिमा जाने, जाँदा ४ सय रुपैंया, आउँदा ४ सय रुपैंया खर्च हुने, समयमा औषधीमुलो सकिएन भने होटलमा बास बस्यो, ४÷५ हजार चैट ।” वयोवृद्ध पाटाले हास्दै भने, “चुनावमा भोट हालेर यहीँका नेता जिताको खुब फाईदा भाछ हामी बुढाबुढीलाई, यहीँ उपचार गर्न पाईयो । खुशी छु म त ।”

पुर्वखोला ३ कै ७१ बर्षिय बिष्णुमाया घर्ती पनी गाउँमै स्वास्थ्य परिक्षण गर्न पाउँदा खुब खुशी भएकी छन् । यो उमेरमा गाउँमै ओखतीमुलो गरेर औषधी पनी निशुल्क पाउँदा घर्ती दंग परेकी छन् । रिङ्नेरहकै ४४ बर्षिय बुद्ध विक पनी महिलाको आन्तरिक समस्याको परिक्षण गाउँमै हुँदा समय र आर्थिक खर्च बँचेकोमा खुशी हुनुहुन्छ । शिविरमा भिआईए तर्फ डा. राकेश बज्राचार्य र आँखा परिक्षण तर्फ सन्तोष दर्जीले परिक्षण गर्नुभएको थियो ।

पुर्वखोला गाउँपालिकाले नेपाल परिवार नियोजन संघ र लायन्स लाकौल आँखा अस्पताल पाल्पाको सहयोगमा सबै वडामा एकिकृत घुम्ति स्वास्थ्य शिविर सञ्चालन गरेपछी सारु, पाटा, घर्ती र विक जस्तै धेरै जना खुशी भएका छन् । गाउँपालिकाले शिविर मार्फत निशुल्क आँखा परिक्षण, महिलाहरुको तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, आङ खस्ने, बाँझोपन, पिसाव चुहिने तथा संभावित पाठेघरको मुखको क्यान्सरको परिक्षण, परिवार नियोजनको लामो अवधिको साधन ईम्प्लान्ट तथा आईयूसिडि राख्ने तथा निकाल्ने सेवा प्रदान गरेको थियो । आँखा जाँच पछि ४७ जनालाई गाउँपालिकाले यही माघ १७ गते निशुल्क अप्रेसन गरिदिने भएको छ ।

शिविर मार्फत गाउँपालिकाका १ हजार ३ सय ९३ जनाले सेवा लिएका छन् । जसमध्ये १ हजार १ सय ३० महिला र २ सय ६३ पुरुष रहेका छन् । जसमा वडा नं. १ का ३ सय १४, वडा नं. २ का २ सय ३९, वडा नं. ३ का ३ सय २९, वडा नं. ४ का १ सय ४३, वडा नं. ५ का २ सय ३३ र वडा नं. ६ का १ सय ११ जना रहेको पुर्वखोला स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए ।
गाउँपालिकाले स्वास्थ्य परिक्षण सहित निशुल्क औषधी समेत वितरण गरेको छ । सिटिएल फार्मा सिटिकल्स भक्तपुरले केही औषधी निशुल्क प्रदान गरेको र फार्माको लुम्बिनी प्रदेश हेर्ने चन्द्र गुरुङलाई पहल गरिदिएकोमा शाखा प्रमुख ढकालले धन्यवाद व्यक्त गर्नुभयो ।

शिविर समापनका अवसरमा गाउँपालिका उपाध्यक्ष भागिरथी शर्मा भट्टराई, वडा नं. ३ का वडाध्यक्ष कृष्ण प्रसाद भट्टराई, कार्यपालिका सदस्य देविसरा गाहा, वडा सदस्यहरु बासुदेव न्यौपाने, गणेश बहादुर काम्मु, नेपाल परिवार नियोजन संघ पाल्पा शाखा प्रमुख शोभाकर न्यौपाने, स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन अधिकृत मधुसुधन भट्टराई, पाल्पा लायन्स लाकौल आँखा अस्पतालका सन्तोष दर्जीलगाएतले पुर्वखोलाको स्वास्थ्य शिविर सफल भएको र सेवाग्राहीहरु खुशी भएको बताएका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय