
विजयकुमार बौडेल –
२५ पुष –जिल्लाको सदरमुकाम तानसेनस्थित कैलाशनगरमा मगरी खानासहित वृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
माघे संक्रान्तीको अवसरमा कैलाश–वसन्त मगर समाजको आयोजना तथा मगर महिला संघ, पाल्पाको सहआयोजनामा कार्यक्रम सञ्चालन भएको समाजका अध्यक्ष शेरबहादुर सोमैले जानकारी दिनुभयो । समाजका अध्यक्ष सोमैले मगर समुदायको संस्कृतिलाई प्रचारप्रसार तथा संरक्षण गर्न यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रमका अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य वीर बहादुर रानाले मगर संस्कृती बँचाउन आयोजकले सहि समयमा सहि कार्यक्रमको आयोजना गरेको बताउनुभयो । कार्यक्रममा रानाले पछिल्लो समय मगर संस्कृती हराउँदै गएको भन्दै समाजले मगर संस्कृती बँचाउन आयोजना गरेको यस कार्यक्रम महत्वपुर्ण भएको बताउनुभयो ।
कार्यक्रममा ठूलो नाँच, कौडा, ठाडो भाका, झाम्रे गीत र नाच प्रस्तुत भएको छ । साथै पाल्पामा रहेका ४ वटै कलाकेन्द्रहरूको विशेष प्रस्तुती भएको उहाँले बताउनुभयो । कार्यक्रममा मगर समुदाय र दर्शकहरुको बाक्लो भिड रहेको थियो ।
मगरी खानाको रुपमा सेलरोटी, बटुक, सखरखण्ड, तरुल, चाकु, सुगुरको मासुका विभिन्न परिकार, कुखुराको मासु लगायत १२ बढी परिकारका स्टलहरू रहेको समाजका सल्लाहकार बलबहादुर रानाले बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत विशेष प्रस्तुती गरेका छन् । २५ बर्ष पहिला २०५४ सालमा कैलाशनगर र बसन्तपुरमा रहेका मगरहरुले स्थापना गरेको कैलाश– वसन्तपुर मगर समाजमा अहिले १ सय १ घर परिवार आवद्ध रहेका छन् ।