विजयकुमार बौडेल –
२९ पौष – डुम्रे दुग्ध कृषी सहकारी संस्था लिमिटेडले आफ्नै भवनबाट सेवा सुरु गरेको छ ।
सहकारीले ९० लाख रुपैंयामा निर्मित भवनबाट सेवा सुरु गरेको हो । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा नवनिर्मित भवनको उद्घाटन गर्दै प्रदेश सांसद तुलाराम घर्ती वसन्तले दुधको बजार र मुल्यमा आएको समस्यालाई प्रदेश सरकारले नीति बनाएर समाधान गर्ने बताउनुभयो । सहकारीको भवन निर्माणका लागी लुम्बिनी प्रदेश सरकारले ५५ लाख रुपैंया आर्थिक सहयोग गरेको थियो ।
सांसद घर्तीले किसानमैत्री कानुन निर्माण गर्न अझैपनी जटिलता भएको बताउँदै अवको सरकारले त्यसको समाधान गर्ने बताउनुभयो । “सहकारी सञ्चालनमा धेरै जटिलता रहेको छ ।” सांसद घर्तीले भन्नुभयो, “त्यो जटिलता तोडेर डुम्रे सहकारी यो अवस्था सम्म आईपुगेको छ । कहीँकतै सहकारी सफलताको उदाहरण दिनुपरे मैले डुम्रे सहकारीको नाम लिने गरेको छु ।” सांसद घर्तीले किसानमैत्री कानुन कार्यान्वयनका लागी सरल र सहज कार्यविधि बनाउनुपर्ने बताउनुभयो ।
भवन उद्घाटन कार्यक्रमका अवसरमा तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले सहकारीको विकासका लागी स्थानीय तहले योजना बनाएर काम गरिरहेको बताउनुभयो । अध्यक्ष श्रेष्ठले व्यवसायिक कृषकलाई सेयर सदस्य बनाई कृषी पेशालाई संस्थागत गर्न सहकारी लाग्नुपर्ने बताउनुभयो । सहकारीले पहिले दुध उत्पादन गर्ने कृषकहरु मात्र आवद्ध गरेकोमा अहिले बाट वंगुरपालन, बाख्रापालन, तरकारी खेती गर्ने किसानहरुलाई पनी आवद्ध गराउने निर्णय गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
सहकारीका अध्यक्ष दुर्गा खाँड ठकुरीले सहकारीमा एक हजार जना किसान आवद्ध भई दुध उत्पादन गरिरहेको बताउनुभयो । सहकारीमा ३ सय १० जना सेयर सदस्य रहेका छन् । अध्यक्ष ठकुरीले सहकारी मार्फत दैनिक २५०० लिटर दुध संकलन भईरहेको बताउनुभयो । जसमध्ये १५०० लिटर पाल्पामै खपत भईरहेको छ भने १००० लिटर पोखराको सुजल डेरिमार्फत बिक्रि हुने गरेको छ । सहकारीमा रिब्दीकोट, तानसेन, तिनाउलगाएतका स्थानबाट दुध संकलन हुने गरेको छ ।
सहकारी मार्फत किसानले रिब्दीकोट गाउँपालिकाबाट प्रतिलिटर ४ रुपैंया, तिनाउ गाउँपालिका बाट प्रतिलिटर २ रुपैंया र प्रदेश सरकार बाट प्रतिलिटर २ रुपैंया अनुदान प्राप्त गर्ने गरेका सहकारीका व्यवस्थापक गोपाल जिसीले बताउनुभयो । व्यवस्थापक जिसीले सहकारीमा आवद्ध ३० जना कृषकले फर्म दर्ता गरेरै व्यवसाय गरेको बताउनुभयो ।
सहकारीमा १५ जना कर्मचारी कार्यरत रहेका छन् भने १० वटा संकलन केन्द्रबाट दुध संकलन हुने गरेको छ । सहकारीले यसबर्ष २५ करोड रुपैंयाको कारोबार गरेको व्यवस्थापक जिसीले बताउनुभयो ।