‘पत्रकारको आर्थिक अवस्था साह्रै कमजोर छ’

विजयकुमार बौडेल

२५ पौष – न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगिता खड्काले समाजलाई गतिशील बनाउन पत्रकारहरूको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।

तानसेनमा आयोजित श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति बिषयक जिल्ला स्तरिय अन्तरक्रियामा अध्यक्ष खड्काले यस्तो बताउनुभएको हो । खड्काले पत्रकारहरूलाई उत्साहका साथ काम गर्ने अवसर दिलाउन समिति क्रियाशिल भएको बताउनुभयो ।

अध्यक्ष खड्काले श्रमजीवी पत्रकारहरुको न्यूनतम आधारभूत आवश्यकता, बजार मूल्यको वर्तमान अवस्था, मौद्रिक अवस्थामा आएको उतारचढाव र अन्य क्षेत्रमा कार्यरत श्रमजीवीहरूको तुलनात्मक पारिश्रमिक दरको अध्ययनको आधारमा सरकारलाई तलब वृद्धिको सिफारिस गरिने बताउनुभयो । खड्काले समितिको कार्यक्षेत्र बढाई पारिश्रमिक निर्धारण तथा अनुगमन बोर्ड बनाउन पनि सिफारिस गर्ने बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्ष झपेन्द्र गहिरेले ऐन, नियमावली कार्यान्वयन नगर्ने सञ्चार प्रतिष्ठानलाई राज्यले दिने सेवा सुविधामा रोक लगाउन, प्रत्येक सञ्चार प्रतिष्ठानले श्रमजीवी पत्रकार ऐन नियमावली अनुसार कल्याणकारी कोषको स्थापना गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखिराम रानाले कोभिड प्रभावित पत्रकार, कर्मचारी÷कामदारलाई विशेष राहत प्याकेज घोषणा गरी कार्यान्वयन गर्न समितिले तदारुकता देखाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पत्रकार देव पचभैयाले पत्रकारहरुको आर्थिक अवस्था दयनीय भएको बताउनुभयो । ‘पत्रकारको आर्थिक अवस्था दयनीय छ’ पचभैयाले भन्नुभयो, ‘पत्रकारलाई न्यूनतम पारिश्रमिक दिने अवस्था छैन ।’ सञ्चारमाध्यमलाई पनी आम्दानीको हिसाबले सबल बनाउन सरकार लाग्नुपर्ने पचभैयाको भनाई थियो ।

कार्यक्रममा पत्रकारहरु माधव अर्याल, जगदिश भट्टराई, यज्ञमुर्ती तिमिल्सेना, किरण कौशल, प्रकाश नेपाललगाएतले समाजलाई गतिशील बनाउन पत्रकारहरूको धेरै महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै प्रभावकारी हिसाबले उत्साहका साथ काम गर्ने अवसर राज्यले पनि दिलाउन सक्नुपर्ने बिषयमा जोड दिएका थिए ।

कार्यक्रममा पत्रकारहरुले ऐन सम्पूर्ण रूपले कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गर्दै पत्रकारहरूको क्षमता वृद्धिमा ध्यान दिन आग्रह समेत गरेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय