तानसेनमा मगरी खानासहित वृहत् सांस्कृतिक कार्यक्रम हुँदै

जिल्लाको सदरमुकाम तानसेनस्थित कैलाशनगरमा मगरी खानासहित वृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ।

माघे संक्रान्तीको अवसरमा कैलाश-वसन्त मगर समाजको आयोजना तथा मगर महिला संघ, पाल्पाको सहआयोजनामा यही पुस ३० गते शनिबार कार्यक्रम हुने समाजका अध्यक्ष शेरबहादुर सोमैले जानकारी दिनुभयो । तानसेनमा पत्रकार भेटघाटको आयोजना गरेर समाजका अध्यक्ष सोमैले मगर समुदायको संस्कृतिलाई प्रचारप्रसार तथा संरक्षण गर्न यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा ठूलो नाँच, कौडा, ठाडो भाका, झाम्रे गीत र नाच प्रस्तुत हुनेछ । साथै पाल्पामा रहेका ४ वटै कलाकेन्द्रहरूको विशेष प्रस्तुती रहने छ उहाँले बताउनुभयो ।

मगरी खानाको रुपमा सेलरोटी, बटुक, सखरखण्ड, तरुल, चाकु, सुगुरको मासुका विभिन्न परिकार, कुखुराको मासु लगायत १२ बढी परिकारका स्टलहरू रहने समाजका सल्लाहकार बलबहादुर रानाले बताउनुभयो ।

कार्यक्रम बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म संचालन हुनेछ । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत विशेष प्रस्तुती रहने रानाले बताउनुभयो ।

२५ बर्ष पहिला २०५४ सालमा कैलाशनगर र बसन्तपुरमा रहेका मगरहरुले स्थापना गरेको कैलाश- वसन्तपुर मगर समाजमा अहिले १ सय १ घर परिवार आवद्ध रहेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय