विजयकुमार बौडेल –
१७ पौष – जनवरी १ लाई राष्ट्रिय टोपी दिवसका रुपमा नेपाल भर मनाईयो तर ढाकाको राजधानी घोषणा गरेर सरकारले ढाकाको प्रवद्र्धनका लागी कुनैपनी भुमिका नखेलेकोमा पाल्पाली ढाका व्यवसायीले दुख व्यक्त गरेका छन् ।
पाल्पाका ढाका व्यवसायीहरुले पाल्पालाई ढाकाको राजधानी घोषणा कार्यक्रम घोषणामा मात्र सिमित भएको बताएका हुन् । पाल्पालाई २०७८ चैत्र १२ गते तामझामका साथ कार्यक्रम आयोजना गरेर ढाकाको राजधानी घोषणा गरिएको थियो । पाल्पालाई ढाकाको राजधानी घोषणा गरेपछी यहाँका व्यवसायीलाई थप व्यवसायीक बनाउन केही कार्यक्रम आएन । तामझामका साथ गरिएको घोषणा कार्यक्रम घोषणामा मात्र सिमित भयो ।
“ढाकाको राजधानी घोषणा भएपनी हामीले केही फाईदा लिन सकेका छैनौं । केन्द्रिय सरकारले ढाकाको प्रवद्र्धनका लागी बजेटमा संबोधन गर्ला भन्ने आश थियो । तर केही पनी भएन ।” तानसेन नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सागरमान महर्जनले भन्नुभयो, “घोषणा गर्ने काम बाहेक केही पनी भएन ।”
ढाकाको राजधानी भनेर घोषणा मात्र गर्ने काम भएको तानसेनकै ढाका व्यवसायी सितम भण्डारीको भनाई छ । “ढाकाको राजधानी घोषणा भएपछी त यहाँका उद्यमीहरुलाई प्रविधी, सिप, आधुनिकिकरणलगाएतका क्षेत्रमा सहयोग गरेर ढाकाको प्रवद्र्धन हुन्छ होला भन्ने सोंचेकी थिएँ ।” व्यवसायी भण्डारीले भन्नुभयो, “औपचारिक कार्यक्रममा मात्र सिमित भयो, थप कार्यक्रम केही पनी भएन । पहिले जसरी चलेको थियो, अहिले पनी त्यसै गरि चलेको छ ।”
तानसेनमा आयोजित घोषणा कार्यक्रममा लुम्बिनी प्रदेश कानुन महिला तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले ढाका राजधानीको उद्घाटन गर्नुभएको थियो । मन्त्री घर्तीले ढाका उत्पादकहरुको मनोबल बृद्धि गर्न र ढाका बुन्ने महिलाहरुलाई स्वरोजगार र उद्यमी बनाउन संघिय, प्रदेश र स्थानिय सरकार बिच सहकार्य गर्ने बताएपनी त्यसपछी कुनै योजना र बजेटका कार्यक्रम अघी बढ्न सकेन । घोषणा कार्यक्रममा मन्त्री घर्तीले ढाका कपडाको राजधानीका रूपमा विकास गरिएपछि यसको कारोबार बढ्ने जनाउँदै महिलाको सीप विकास गरी उद्यमशीलता विकासमा प्रदेश सरकारले सहयोग गर्ने बताउनुभएको थियो ।
पाल्पालाई ढाकाको राजधानी घोषणा गरिएपछी पाल्पाली ढाकाको उत्पादनमा सरकारले सहयोग गर्ला भन्ने यहाँका व्यवसायीहरुको अपेक्षा पनी थियो । तर सरकारले घोषणा गरेपछी फर्केर पनी हेरेन । यहाँको प्रविधी विकास, आधुनिकिकरण, सिप विकास, बजारीकरणमा सहयोगलगाएतका क्षेत्रमा सरकारको कुनै पनी कार्यक्रम ल्याउने चासो भएन । यहाँका जनप्रतिनिधीले पनी यसबारेमा चासो नदिएको व्यवसायीहरुको आरोप छ ।