नक्सापास नभएका तानसेनका घरहरु बैध गरिँदै

विजयकुमार बौडेल

११ पौष – तानसेन नगरपालिकाले नक्सा पास नभई निर्माण भएका भवन तथा टहराहरुलाई एक पटकका लागी अभिलेखिकरण गर्ने भएको छ ।

नगरकार्यपालिकाको बैठकले एक पटकको लागी तोकिए बमोजिम अभिलेखीकरण गर्ने निर्णय गरेको हो । नगरपालिकाले अभिलेखीकरणका लागी विभिन्न कागजात सहित ३५ दिने सुचना जारी गरेको छ ।

घरटहरा बनाउने क्रममा भएका सामान्य त्रुटीहरुका कारण नागरिकलाई समस्या नपरोस् भन्ने उद्देश्यले यो निर्णय गरिएको तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले बताउनुभयो । प्रवक्ता कार्कीले धेरै पहिले देखी बनेका घरहरु भत्काउने अवस्था नरहेका कारण अति जोखिमयूक्त घरटहराहरुलाई बाहेक अन्यलाई प्राविधिकहरुलाई जाँचपास गराएर एक पटकका लागी बैध गर्ने नगरपालिकाको सोंच रहेको बताउनुभयो ।

तानसेन ४ की शान्ती बस्यालले तानसेनमा बाक्लो बस्ती हुनुअघी नै बनेका र पछी मर्मत भएका सुरक्षित घरहरु पनी नक्सापास नभएका कारण नागरिकहरु मर्कामा परेको भन्दै नगरपालिकाको यो निर्णय समय सापेक्षित भएको बताउनुभयो । बस्यालले जोखिमयूक्त घरहरुलाई बाहेक बर्षौदेखी बस्दै आएका सुरक्षित घरटहरालाई एक पटकका लागी बैध गर्ने नगरपालिकाको योजनाले तानसेनका धेरै नागरिक खुसी भएको बताउनुभयो ।

“नगरपालिका भित्रका ग्रमिण वडाहरुमा बनिसकेका घरहरुको नक्सापास हुने प्रचलन थिएन । त्यसको सहजताका लागी नगरपालिकाले यो निर्णय गरेको हो ।” तानसेन नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राजेशकुमार अर्यालले भन्नुभयो, “नागरिकलाई नक्सापास नभएका कारण बैंकिङ कारोबारका लागी पनी अप्ठेरो भएको थियो । नागरिकहरुको गुनासोका आधारमा यो निर्णय गरिएको हो ।” २०७४ सालपछी बनेका घरहरुका लागी पनी यो निर्णय एकपटकका लागी अवसर भएको वडाध्यक्ष अर्यालले बताउनुभयो ।

अभिलेखीकरणका लागी अभिलेख नक्सा दरखास्त फारम, घरटहरा भएको जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी, नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपी, तिरो तिरेको रसिद, वडा कार्यालयको सिफारिस, नापी नक्सा र घरको नक्सा सहित उपस्थित हुन सुचित गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय