विजयकुमार बौडेल –
५ पौष – पाल्पाको तानसेनमा घडेरी खन्ने क्रममा तोपका दुई सयभन्दा बढी गोला भेटिएका छन् । जिल्ला अस्पताल तानसेन नजिकै गोलाखानामा घडेरी खन्ने क्रममा तीन सय ३० भन्दा बढी तोपका गोला भेटिएको पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाली सेनाको जग्गा रहेको ठाउँमा गेष्टहाउस निर्माणका लागि घडेरी खन्ने क्रममा पुराना तोपका गोला भेटिएका हुन् । यी गोला भिमसेन थापाको पालामा पाल्पा गौंडाको रहेको हुनसक्ने ईतिहासविद निर्मल श्रेष्ठले बताउनुभयो । घडेरी खन्ने काम भइरहेकाले अझै गोलाहरु भेटिन सक्ने नेपाली सेनाले जनाएको छ ।
अहिले गोला तानसेनस्थित सेनाको गणमा राखिएको छ ।
भिमसेन थापाको पालाको या राणाकालको पनी हुन सक्ने श्रेष्ठले बताउनुभयो । तोपका गोला धेरै पुरानो हो । “हाम्रै देशमा हतियार बनाउने कामको अभ्यास हो । नेपालभरी २६ पल्टन रहेको थियो । त्यो मध्ये ४ पल्टन पाल्पामा नै बस्थ्यो ।
नेपालभरीमा सबैभन्दा बलियो स्थान पाल्पा हो ।” ईतिहासविद श्रेष्ठले भन्नुभयो, “सबुज, भवानीदल, बरख र ईन्द्रध्वज गरि ४ वटा पल्टन पाल्पामा बस्थ्यो । यहाँ हतियार तयार भएर पश्चिम तिर जान्थ्यो । पाल्पामा अहिले पनी हतियार बनाउने ठाँउ मेक्जिन सडक, बारुद राख्ने स्थान बारुदखान, गोला राख्ने स्थानको रुपमा गोलाखान भनिने स्थान छ ।”
“त्यतिबेला बजार भन्दा बाहिर तोपका गोला भण्डारण गर्ने स्थानको रुपमा गोलाखान थियो । त्यतिबेला त्यहाँ बस्ति थिएन । त्यो गोलामा प्वाल रहेको छ । त्यसभित्र बारुद भरेर राखिन्थ्यो । गोला सानो ठुलो रहेको हुन्छ । त्यो पाउण्ड अनुसार हुन्छ । जहाँ गयो त्यहीँ हतियार बनाउने अनी यो ठाउँ छोड्दा बोक्ने व्यक्ति नभएर त्यहीँ छाडेर हिँड्थे ।” ईतिहासविद श्रेष्ठले बताउनुभयो ।