मिलन विश्वकर्मा
पाल्पा, २६ साउन । नेकपा एमाले पाल्पाले यही साउन २८ गते शनिवार हुने जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।
कार्यक्रमलाई भव्य, सभ्य र उपलब्धिमुलक बनाउने गरी तयारी भएको एमाले पाल्पाका सचिव रामजी पोखरेलले बताउनुभयो । कार्यक्रममा सहभागी हुने सबैलाई खबर गरिसकिएको छ । कम्तीमा ५०० सय जना सहभागी हुने उहाँले बताउनुभयो । यस्तै प्रचार प्रसारको काम भइरहेको छ ।
जिम्मेवारी बहन गरेका नेता तथा कार्यकर्ताले प्रशिक्षण कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो । तानसेन नगरपालिकाको सभाहलमा हुने प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटी सदस्यहरू, प्रदेश सल्लाहकार परिषद्, केन्द्रीय विभाग, प्रदेश विभाग, जिल्ला कमिटीका सदस्य, जिल्ला सल्लाहकार परिषद र जिल्ला विभाग सदस्यहरू सहभागी हुने छन् ।
यस्तै पालिका कमिटीका पदाधिकारी, जनवर्गिय संगठनका पदाधिकारी, वडा कमिटीका अध्यक्षहरू, निर्वाचित पालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष, सम्पर्क मञ्चका पदाधिकारीहरू सहभागी हुन पाउने एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले बताउनुभयो ।
सक्रिय सहभागिताका लागि उहाँले निर्देशन दिनुभएको छ। उहाँकाअनुसार एमालेका केन्द्रीय सचिव गोकर्ण विष्ट र केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज दलबहादुर राना, पोलिटब्यूरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज ठाकुर गैरे, केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला सहइन्चार्ज सिर्जना काफ्ले, लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, केन्द्रीय अनुशासन आयोगका सदस्य झपेन्द्र जिसीले प्रशिक्षण दिने छन् ।
पालिका स्तरीय प्रशिक्षण कार्यक्रम पनि आयोजना हुने भएको छ । यो कार्यक्रम सोही दिन घोषणा हुने छ । प्रशिक्षणको आयोजना र व्यवस्थापन पालिका कमिटीले गर्ने गर्नुपर्ने छ । तानसेन नगरपालिकामा २०७९ भदौ १०, रामपुर नगरपालिकामा आगामी भदौ ६ गते, निस्दी गाउँपालिकामा भदौ ७, पूर्वखोलामा भदौ ८, रम्भामा भदौ ९, माथागढीमा भदौ १०, रैनादेवीछहरामा भदौ ४, तिनाउमा भदौ ६, रिब्दीकोटमा भदौ ७, बगनासकाली गाउँपालिकामा भदौ ११ गते प्रशक्षिण कार्यक्रम हुने छ ।
यस्तै वडा स्तरिय प्रशिक्षण तथा भेला यही भदौ १६ गते देखि २५ गतेसम्म सम्पन्न गर्ने निर्णय भएको अध्यक्ष घिमिरेले बताउनुभयो । उहाँकाअनुसार टोल प्रशिक्षण तथा भेला यही भदौ २६ गते देखि भदौ मसान्तसम्म सम्पन्न हुने छ । जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई व्यवस्थित बनाउन स्वयमसेवकका लागि सय बढी युवा परिचालन गरिने एमाले पाल्पाका कार्यालय सचिव तथा राष्ट्रिय युवा संघ नेपाल पाल्पाका इन्चार्ज दीपक विश्वकर्माले बताउनुभयो ।