विजयकुमार बौडेल –
१२ असार – गतबर्ष चार जिपिए ल्याउने विद्यार्थीको संख्या अत्याधिक मात्रामा भएपनी यसबर्ष कसैले पनी ल्याउन सकेनन् । गतबर्षको एसईइ नतिजामा पाल्पाका ४९ जनाले चार जिपिए ल्याएका थिए तर यसबर्ष भने त्यो आंकडा शुन्यमा झरेको छ ।
गतबर्ष विद्यालयले मूल्यांकन गरेको भन्दा यस बर्ष परिक्षा बोर्डले मुल्यांकन गरेको एसईईमा जीपीए ४ प्राप्त गर्ने विद्यार्थीको संख्या अस्वाभाविक रूपले शुन्यमा घटेको हो । कोरोना महामारीका कारण यस भन्दा अघिका २ बर्ष विद्यालयहरुले आन्तरिक मुल्यांकनका आधारमा ग्रेड दिएका थिए । विद्यालयहरुले आफ्ना विद्यार्थीहरुलाई आफैले ग्रेड दिन पाउने भएपछी अस्वभाविक रुपमा उच्च ग्रेड दिएको सरोकारवालाहरुको भनाई छ ।
सरकारले कोरोना महामारीको कारण विद्यालयहरुलाई आफै ग्रेड दिने मौका दिएका थिए । तर विद्यालयहरुले भने मौकाको फाईदा उठाउँदै विद्यालयको नाम राख्ने अस्वस्थ प्रतिस्पर्धामा विद्यार्थीको क्षमता भन्दा बढी ग्रेड दिएको अभिभावकहरुको गुनासो छ । गतबर्ष ३.६ देखी ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ५ सय ५७ जना (११ प्रतिशत) रहेको थियो भने यसबर्ष ५२ जना (१ प्रतिशत) मात्र रहेको छ । गतबर्ष २.४ भन्दा तल जिपिए ल्याउने विद्यार्थी २ हजार १ सय ४२ जना (४४ प्रतिशत) थिए भने यस बर्ष त्यो बढेर ३ हजार ८ सय ४८ जना (८३ प्रतिशत) पुगेको छ ।
विद्यालयहरुले विद्यार्थीको क्षमता भन्दा धेरै ग्रेड दिने काम गलत भएको र यसले दिर्घकालिन रुपमा गम्भिर असर पार्ने शिक्षाविदहरुको भनाई छ । आंकडा अनुसार विद्यार्थीको अवस्था खस्किएको देखिए पनी वास्तविकता भने त्यस्तो होईन । अघिल्लो बर्ष कोरोनाका कारण विद्यार्थीहरु भौतिक रुपमा उपस्थित भएर पढ्न लेख्न पाएका थिएनन् । तर यसबर्ष भौतिक रुपमा उपस्थित भएर विद्यार्थीले पढ्न लेख्न पाएका थिए । विद्यालयको नाम राख्ने रहरमा विद्यार्थीलाई क्षमता भन्दा बढी ग्रेड दिने काम गैरजिम्मेवार भएको शिक्षाविद्हरुको भनाई छ ।
आफुले पढाएका विद्यार्थीलाई धेरै अंक दिनु स्वभाविक भएको र अभिभावकहरुलाई खुसी बनाउनुपर्ने यथार्थ भएकाले विषय शिक्षकहरुले बढी अंक दिएको दमकडा माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन सापकोटाले बताउनुभयो । बढी अंक आउँदा बढी जान्ने रैछु भन्ने भ्रम परेर अली अप्ठेरो बिषय पढ्दा विद्यार्थीलाई पछी समस्या पर्न सक्ने पनी सापकोटाले बताउनुभयो । आफै अंक दिन पाउँदा विद्यालयहरु बीच अस्वस्थ प्रतिष्पर्धा भएकाले पनी बढी अंक दिने गरिएको र अभिभावकको गुनासो बाट मुक्त हुन पनी दुई चार नम्बर बढी दिनुपर्ने बाध्यता भएको सापकोटाले बताउनुभयो ।
शिक्षा क्षेत्रमा खस्किँदै गएको गुणस्तरलाई यस कार्यले झनै गुणस्तरहिन बनाउने हुँदा सम्बन्धित पक्षले बेलैमा ध्यान पुर्याउन जरुरी छ ।