“श्रीमान रोपाईंमा, म यता गाउँसभामा” : पाल्पाकी एकमात्र महिला वडाध्यक्ष चिदी

विजयकुमार बौडेल –

२७ असार – तिनाउ गाउँपालिका वडा नं. ५ बाट निर्वाचन जितेकी पाल्पाकी एकमात्र महिला वडाध्यक्ष ईन्द्र कुमारी चिदीको दिनचर्या अहिले निकै व्यस्त चलिरहेको छ ।

तिनाउ गाउँपालिका वडा नं. ५ बाट निर्वाचित भएपछी चिदीको दिनचर्या व्यस्त बनेको हो । ४३ बर्षिया चिदीको २ छोरी र श्रीमान सहित ४ जनाको परिवार छ । चिदीकी जेठी छोरी स्नातक प्रथम बर्षमा अध्ययनरत हुनुहुन्छ भने कान्छी छोरीले यही बर्ष एसईई दिनुभएको हो । विहान उठेर श्रीमान संगै घरको काम सकेर दिउँसो वडाको काममा व्यस्त हुनुहुन्छ । उहाँका श्रीमान यम बहादुर चिदी स्थानीय कृषी सहकारीमा व्यवस्थापकको काम गर्नुहुन्छ ।

“आज घरकै रोपाईं हो, श्रीमान खेताला सहित रोपाईंमा जानुभएको छ । म यता गाउँसभाको बैठकमा छु ।” चिदीले भन्नुभयो । “घरबाट निकै सपोर्ट छ र त यहाँ सम्म आईपुगें । नत्र कहाँ सम्भव हुन्थ्यो होला र ?” घरको काम जसले भ्याउँछ उसैले गर्ने भएकाले वडाध्यक्ष भएपछी पनी सहज भएको चिदीको भनाई छ ।

चिदी नेकपा एमालेबाट वडामा एक्लै निर्वाचित हुनुभएको हो । बाँकी ४ सदस्यहरु गठबन्धनबाट निर्वाचित भएका हुन् । जुनसुकै पार्टीबाट निर्वाचित भएपनी अव जनताको प्रतिनिधी भएको भन्दै चिदीले सबैलाई मिलाएर लगेको र सदस्यहरुले पनी सहयोग र सहकार्य गरेको बताउनुभयो । चिदी बैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा २ सय ६८ मतान्तर सहित ९ सय ४५ मत ल्याएर विजयी हुनुभएको थियो ।

तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले विशेषगरि महिलाहरुको समस्या लिएर सदरमुकाम सम्म नै आफै धाउने र सहयोगी मनकी भएकाले पनी चिदी लोकप्रिय भएको बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले वडा नं. ५ की वडाध्यक्ष निकै सक्रिय भएको बताउनुभयो । उहाँको मेहेनत र लगनशिलताले वडामा सकारात्मक परिवर्तन भएको स्थानीयले महसुस गरेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय