
विजयकुमार बौडेल –
२१ असार – तिनाउ गाउँपालिकाको एघारौं गाउँसभा तथा आर्थिक बर्ष ०७९/८० को नीति, कार्यक्रम तथा बजेट प्रस्तुतिकरण सम्पन्न भएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले लोकप्रियताका लागी नभई दिगो विकासका लागी योजना ल्याएको बताउनुभयो । अध्यक्ष श्रेष्ठले शिक्षाको क्षेत्रमा व्यापक सुधार गर्नुपर्ने भन्दै दिवा खाजाका लागी अहिले बजेट थप गर्न नसकिएको र आगामी हिँउदे सभा मार्फत त्यसलाई सम्बोधन गर्ने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लाल बहादुर थापाले बजेटमा सबै योजना समावेश गर्न नसकिएको बताउनुभयो । उपाध्यक्ष थापाले वडा मार्फत धेरैजसो योजना सञ्चालन भएको भन्दै योजना दिर्घकालिन रुपमा विकास हुने खालका छनौट गरिएको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले असारको मुखमा योजनाको काम गर्दा दिगोपन नहुने भन्दै आगामी बर्ष योजना बनाएर समयमै काम सम्पन्न गर्ने र योजना फरफारक गर्ने रणनीति बनाउने बताउनुभयो ।
कार्यक्रममा सबै वडाका वडाध्यक्षहरुले बजेटको सहि सदुपयोग गर्ने र समयमै योजना सम्पन्न गर्न सहजिकरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । गाउँसभाले तिनाउ गाउँपालिकाको अर्थिक विधेयक २०७९ माथी छलफल गरि पारित गरेको छ ।
त्यस्तै सभाले न्यायिक समितिको बार्षिक प्रतिवेदन, महत्वपुर्ण नीतिगत प्रस्तावहरु समेत पारित गरेको छ ।