विजयकुमार बौडेल –
पाल्पा – संघीय र प्रदेश सरकारले नयाँ नारासहित वितरणमुखी लोकप्रिय नीति तथा कार्यक्रम सार्वजनिक गरे पनि पाल्पाका अधिकांश स्थानीय तहले पुरानै नीति र कार्यक्रमलाई निरन्तरता दिएका छन् । पाल्पाका ६ वटा स्थानीय तहमा नयाँ जनप्रतिनिधि आए पनि सबैले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि, पर्यटन र सञ्चारका पुरपालनै योजनालाई निरन्तरता दिँदै बजेट ल्याएका हुन् ।
पाल्पाको तानसेन नगरपालिकाले वडालाई पहिलेजस्तै गरी बजेट विनियोजन गरेको छ । यसअघि ५० लाख रुपैंया सम्म दिँदै आएका वडाहरूमा यो पल्ट एक करोडको दरले बजेट पठाइएको छ । तानसेन नगरपालिकामा आगामी वर्षका लागि १ अर्व ३९ करोड १८ लाख रुपैयाँको बजेट पेस गरिएको छ । पालिकाले यसबर्ष पनी विकास निर्माणलाई नै प्राथमिकतामा राखेर बजेट निर्माण गरेको छ ।
बगनासकाली गाउँपालिकाले कृषि, पूर्वाधार विकास र शिक्षा क्षेत्रलाई प्राथमिकता राखेर बगनासकाली गाउँपालिकाले बजेट निर्माण गरेको छ । रिब्दीकोट गाउँपालिकाले पनी कृषि, पशुपालन, शिक्षा र पर्यटनलाई प्राथमिकता दिएर गाउँसभामा बजेट पेश गरेको छ ।
तिनाउ गाउँपालिकाले पूर्वाधार विकास, शिक्षा, कृषि, स्वास्थ्यलाई प्राथमिकता राखेर बजेट निर्माण गरेको छ । शिक्षा, कृषि, पूर्वाधार, सडक निर्माणलाई प्राथमिकतामा राखेर माथागढीले बजेट पेश गरेको छ । त्यस्तै रैनादेवी छहरा गाउँपालिकाले पनि ६३ करोड ६९ लाख २५ हजारको बजेट ल्याएको छ । रैनादेवी छहराले कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलाई नै प्राथमिकता दिएर बजेट ल्याएको छ ।