विजयकुमार बौडेल –
१८ असार – वर्षातको समय सुरु हुनै लाग्दा रासायनिक मल (युरिया) को अभाव भएपछि पाल्पाका किसानहरुलाई उत्पादन घट्ने चिन्ता छ । रोपाइँ सुरु नहुँदै मल अभाव झेलेका किसानहरुले यसपटक वर्षभरि पुग्ने खाद्यान्न उत्पादन नहुने चिन्ता व्यक्त गरेका छन् ।
अँधियामा धान खेती गरेका तानसेन–९ का बिर बहादुर रुचाल मल नपाउँदा चिन्तित हुनुहुन्छ । खेती सुरु हुने बेला मल नभएको र खेत रोप्ने बेलासम्म मल आएपनि धेरै सहज हुने रुचालको आशा छ । मानो रोपेर मुरी फलाउने समयमा रासायनिक मल अभाव भएपछि किसानहरूको चिन्ता बढेको हो ।
रुचाल जस्तै पाल्पाका किसान अहिले मल नपाउँदा अघिल्ला वर्षहरूमा मल वितरण गर्दै आएका सहकारीमा दैनिक धाइरहन्छन् । तर मल नपाउँदा रित्तो हात फर्कनुपरेको छ । स्थानीयस्तरमा मल बिक्रीका लागि अनुमति पाएका सहकारी संघसंस्थाले समेत मल उपलब्ध गराउन सकेका छैनन् । तानसेन ९ कै ओम बहादुर नेपालीलाई खेत रोपाइँको ‘सिजन’ सुरु हुन थाले पनि मलबिनै खेत रोप्नुपर्ने बाध्यता आइलाग्ने हो कि भन्ने चिन्ताले सताएको छ ।
पाल्पाका किसानका लागि वार्षिक करिब २ हजार मेट्रिक टन मल आवश्यक पर्छ । कृषि सामग्री कम्पनी लिमिटेड पाल्पाकी प्रमुख सुमन पन्थीले माग धेरै भएको र सरकारले समयमा मल उपलब्ध गराउन नसकेका कारण पाल्पामा पनी यसको अभाव भएको बताउनुभयो । जिटुजी सम्झौता मार्फत तत्काल मल नअाउने हुँदा पनी समयमा मल उपलब्ध हुन नसकेको पन्थीले बताउनुभयो ।
पाल्पाका लागी आवश्यक मल एक ढेढ हप्तामा आउने संभावना रहेको पन्थीले बताउनुभयो । पाल्पामा कुल ५५ वटा कृषि सहकारी संस्थाहरूले कृषि सामग्रीमार्फत रासायनिक मल खरिद गरी किसानलाई बिक्रीवितरण गरिरहेका छन् । समयमा मल उपलब्ध नहुँदा उत्पादन घट्ने हो कि भन्ने किसानलाई चिन्ता छ ।