
विजयकुमार बौडेल –
१८ असार – वर्षाका कारण पाल्पाका ग्रामिण सडक छियाछिया भएका छन् ।
अत्यधिक वर्षाले पाल्पाका दर्जन बढी ग्रामीण सडक छियाछिया भएका हुन् । अव्यवस्थित डोजरको प्रयोग र असार महिनामा खनेका ग्रामिण सडक बर्षाको भेलले बगाएर कामै नलाग्ने भएका हुन् । बर्षाले बगाएको माटोले तानसेन १३ छेर्लुङ्गको खेत पुरेको छ । अव्यवस्थित रुपमा खनेका बाटोको माटो बगाएर खेतमा लगेको स्थानीय जनकराज भट्टराईले बताउनुभयो ।
“नालीको व्यवस्थापन नगरी बर्षाको समयमा बाटो खन्ने काम हुँदा खेतलाई असर पर्ने गरि माटो बगाएको हो ।” भट्टराईले भन्नुभयो । “ग्रामिण सडकका लागी पर्याप्त बजेट विनियोजन नगरि टुक्रे योजना बनाएर खन्ने र चौडा गर्ने मात्र काम हुँदा प्राक्रितिक रुपमा असर परेको हो ।” पक्की नाली सहितकोसडक नबनाउँदा सम्म ग्रामिण क्षेत्रका सडकहरुको अवस्था बिग्रँदो रहने भट्टराईको भनाई छ ।
चर्चरे कोलडाँडा मोटरबाटो पनी गाडी चल्नै नसक्ने गरी भत्केको छ । यहाँ बर्षेनी बर्षाको समयमा सडकको अवस्था बेहाल हुने स्थानीय विद्यालयका शिक्षक ध्रुव प्रसाद पंगेनीले बताउनुभयो । बर्षेनी बाटो खोल्न मात्र बजेट व्यवस्थापन हुन्छ । “पर्याप्त बजेट नहुँदा सामान्य मर्मत मात्र हुन्छ” पंगेनीले भन्नुभयो । “बर्षाको समयमा माथीबाट पहिरो खस्ने र तलबाट बाटो भास्सिने समस्या बर्षेनी भोग्नुपर्छ ।” बाटो नहुँदा स्थानीय स्तरमा उत्पादित कृषी सामग्री बजार लैजान र दैनिक उपभोग्य सामग्री गाउँमा लान नागरिकलाई सास्ति हुने गरेको पंगेनीको भनाई छ ।
तानसेन नगरपालिका वडा नं. ७ काजीपौवामा बर्तुङ तानसेन सडक खण्डमा पर्ने बाटो बिस्तारको क्रममा फालिएको माटोले तानसेन बहुमुखी क्याम्पस भन्दा माथिको भागमा क्षती पुर्याएको स्थानीय चन्द्रकान्त न्यौपानेले बताउनुभयो ।
खोलाका कारण खेतीबाली समेत बाढीले नष्ट भएको छ । धान रोपेका खेत बगाएको छ । कतिपय स्थानमा खेती पुरिएर फेरी रोप्नुपर्ने अबस्था छ । हिउँदमा करोडौं खचेका सडक अहिले बगर बनेका छन् । नाली बनेका, ग्राभेल भएका सडक पनि नामनिसाना मेटिएका छन् । सडकैभरी रुख ढल्ने, पहिरो जाने र मानिसहरू बिस्थापित हुने घटना बढ्दो छ ।