विजयकुमार बौडेल –
१५ असार – १९ औं राष्ट्रिय धान दिवस आज मनाइएको छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाइएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ ।
वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।
असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै आज धान रोप्ने चलन छ । यसै बीच नेकपा एमालेको भातृसंगठन अखिल नेपाल किसान महासंघ पाल्पाले पनी अन्नको भण्डार माडीफाँटमा धान दिवस मनाएको छ ।
अखिल नेपाल किसान महासंघ पाल्पाका अध्यक्ष एम बहादुर राउतले कृषी क्षेत्रलाई नेपालका राजनैतिक दलहरुले प्राथमिकतामा नराखेको भन्दै नेकपा एमालले श्रमजिवी र किसानको पक्षमा रहेको शन्देश दिन माडीफाँटमा कार्यकर्ताहरुले धान रोपेको बताउनुभयो ।
एमालेका नेता तथा कार्यकर्ताहरुले मिलेर बाउसे काम गर्ने, मेलो बनाउने, धनको बिउ काड्ने र रोप्ने गरेर धान दिवस मनाएका नेकपा एमालेका तानसेन नगर अध्यक्ष गुरास आत्रेयले बताउनुभयो । कृषीप्रधान देश नेपालमा किसानहरु धान रोप्ने बेलामा मलको अभाव झेल्नु दुखद भएको बताउँदै नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले सरकार किसान प्रती गैरजिम्मेवार रहेको बताउनुभयो ।
असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । कृषिसहित सबै पेशा व्यवसायमा लागेका नेपालीहरुले आज दहीच्यूरा खाई असार १५ मनाउँछन् । औपचारिकरूपमा सरकारले निर्णय गरेर राष्ट्रिय धान दिवस घोषणा गर्नु अघिदेखि नै नेपालमा असार १५ गते दहीच्युरा खाने चलन चल्दै आएको थियो ।
दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ ।