विजयकुमार बौडेल –
६ असार – पाल्पाको बगनासकाली गाउँपालिकामा बगनासे ताल्चाको प्रयोग गरिएको छ ।
पाल्पाको बगनासमा उत्पादित ‘बगनासी साँचो’ गाउँपालिकामा प्रयोग गरिएको हो । यहाँका विश्वकर्मा समुदायले उत्पादन गर्ने ‘बगनासी साँचो’ गाउँपालिकाले दुई वटा कोठामा प्रयोग गरेको छ । गाउँपालिकाको सभाहल र जिन्सी शाखामा बगनासे ताल्चाको प्रयोग गरिएको गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले बताउनुभयो ।
पछिल्लो समय यो ताल्चाप्रती उपभोक्ताको आकर्षण नहुँदा भने साँचो उत्पादन गर्ने व्यवसाय नै धरापमा परेको छ । उत्पादित साँचोसमेत बिक्री हुन छाडेको छ । लगानी गरेर उत्पादित साँचोले बजार पाउन नसक्दा व्यवसायी चिन्तित छन् ।
व्यवसायी टेकबहादुर विश्वकर्माले पहिलाको तुलनामा अहिले साँचोको कारोबार हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । “लगानी गरेर साँचो बनाउनुपर्छ तर बिक्री नहुँदा घाटा हुन्छ”, विश्वकर्माले भन्नुभयो, “कसैले साँचो बनाइदिनु प¥यो भनी मात्र उत्पादन हुन्छ, अरू समयमा साँचो उत्पादन हुन छाडेको छ ।”
भारतीय र चिनियाँले मेशिनद्वारा उत्पादित साँचोे नेपाली बजारमा सस्तो मूल्यमा पाइन्छ । सस्तो, सानो र आकर्षक साँचो बजारमा पाउन थालेपछि यहाँ उत्पादित साँचोको प्रयोगप्रति आकर्षण घट्दो छ । पहिला साँचो उत्पादन गर्ने घरहरुमा समेत अहिले बजारको साँचो प्रयोग गर्न थालेका छन् । पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्ष गोविन्द भट्टराईले यस साँचो गाउँपालिकाको पहिचान नै भएकाले यसको प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । “बगनासे ताल्चा बगनासकालीको पहिचान हो । यसको उत्पादन र प्रवद्र्धनमा गाउँपालिकाले चासो राख्नुपर्छ ।” भट्टराईले भन्नुभयो ।
पहिला पाल्पा, गुल्मी, स्याङ्जा, रुपन्देही, अर्घाखाँची, प्यूठानलगायत जिल्लाबाट समेत नयाँ साँचोको आपूर्ति हुँदै आएको थियो तर पछिल्ला दश–बाह्र वर्ष उत्पादनका लागि माग हुन छाडेको छ । बिग्रिएका साँचो मर्मतका लागि अझै केही मानिसहरु आउँछन् तर नयाँ साँचोको माग पहिलाको तुलनामा शून्यजस्तो रहेकामा व्यवसायी चिन्तित छन् ।
स्थानीय बासिन्दा शुक्रमाया विश्वकर्माले पहिलाका तुलनामा अहिले वर्षमा एक–दुईवटा मात्र बिक्री हुने बताउनुभयो । बिक्री हुन छाडेपछि उत्पादन पनि कमी हुँदै आएको र यो व्यवसायप्रति युवा पुस्ताको आकर्षण हुन नसकेको उहाँले बताउनुभयो । युवा व्यवसायी शिव विश्वकर्माका अनुसार बगनासी साँचोलाई आधुनिकीकरण गर्न सकेको अवस्थामा मात्र यो साँचो संरक्षण हुने बताउनुभयो ।
उहाँले परम्परागत रुपमा साँचो उत्पादन गर्दा श्रमअनुसारको ज्यालासमेत उठाउन गाह्रो भएकाले अब बगनासी साँचोलाई मेशिनबाट उत्पादन गर्ने आवश्यक रहेको बताउनुभयो । बगनासमा उत्पादित साँचोलाई पाँच–सात सय रुपैयाँ पर्ने हुँदा प्रयोगकर्ता सय–डेढ सय मूल्यका साँचो प्रयोग गर्दै आएका छन् । स्थानीयवासी साँचोको मूल्य महँगो हुँदा लोप हुने अवस्थामा पुगेको हो । मेशिनले निर्माण गरिएका साँचोको मूल्यमा कमी हुनु र युवा पुस्ताले साँचो बनाउन आकर्षित नभएपछि यो साँचो बिस्तारै हराउने शुक्रमाया विश्वकर्माको दाबी छ ।
साँचोको माथिल्लो भागको डण्डी रहेको हुन्छ । जुन डण्डी एक साइड खुल्ने र अर्को साइड घुमाउन मिल्ने डण्डी हुन्छ । डण्डीलाई प्वालभित्र राखेर साँचोको तलबाट चाबीले खोल्न र बन्द मिल्ने हुन्छ ।