
विजयकुमार बौडेल
६ असार – बगनासकाली गाउँपालिकाले जिल्लाका सक्रिय पत्रकारहरु संग सुझाव संकलन गरेको छ । गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमको लागि समेट्न सकिने बिषयमा पत्रकारहरु संग सुझाव संकलन गरेको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले यसै बर्ष सबै बाटोहरुलाई हिलो र धुलो मुक्त बनाउन योजना बनाएर लाग्ने बताउनुभयो । सुशासन सहितको सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । चिदिले हरेक नागरिकको मन छुने र विकासको मोडल परिवर्तन गरि नमुना गाउँपालिका बनाउने बताउनुभयो ।
वडा स्तरमा अधिकतम अधिकार प्रत्यायोजन गर्ने भदै अध्यक्ष चिदीले नेपाल सरकारको दिगो विकासको नितीलाई आधार मानेर जनताको आवश्यकता अनुसार योजना बनाउने बताउनुभयो । चिदीले वडा र स्वास्थ्य कार्यालय भवनहरु निर्माणकार्य सम्पन्न गर्नुपर्ने भन्दै सबै किसानलाई व्यवसायिकरण गरी कृषि र पशु क्षेत्रमा आत्मनिर्भर बनाउने योजना ल्याउने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हरि पाठकले नितिगत भ्रष्टाचार रोक्दै सबैखाले भ्रष्टाचार हुन नदिने बताउनुभयो । पाठकले अघिल्लो सरकारले गरेका राम्रा कामहरुलाई अघि बढाएर सबैको सुझाव अनुसार सर्वपक्षिय बजेट निर्माण गर्ने बताउनुभयो ।
गाउँपालिकाका प्रवक्ता टीका बहादुर थापाले सञ्चार क्षेत्र संग जोडिएर सुचनाको क्षेत्रमा हुने खर्च पारदर्शी हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रवक्ता थापाले बर्षको कम्तिमा ३ पटक खर्च सार्वजनिक गर्ने बताउनुभयो । थापाले सञ्चार क्षेत्र बाट आएको सुझावलाई कार्यान्वयन गर्ने प्रतिवद्वता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु घर्तीले सबै पक्षको सुझाव संकलन गरेर नीति तथा कार्यक्रम निर्माण गर्ने प्रयास गरेको बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्माले नीति तथा कार्यक्रममा समेटिएका बिषय कार्यान्वयन गर्न चुनौती रहेको भन्दै बगनासकालीलाई सफलता मिलोस भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्ष गोविन्द भट्टराई, बगनासकाली पत्रकार समुहका अध्यक्ष दिपक ढुङ्गानालगाएतले कृषि उत्पादन, भौतिक पुर्वाधार, आत्मनिर्भरता, बगनासे ताल्चाको प्रवर्धन, माटोको भाँडा प्रवर्धन, मादल व्यवसायीलगाएतलाई प्राथमिकता दिएर काम गर्नुपर्ने बिषयमा सुझाव व्यक्त गर्नुभयो ।
कार्यक्रममा पत्रकारहरु कृष्ण पोखरेल, किरण कौशल, भोजराज भट्टराई, विष्णु घिमिरे, विजय बौडेल, नेत्र गैरे, जगदिश भट्टराई, कृष्ण कार्की, भोजराज तिमिल्सेना, यज्ञमुर्ती तिमिल्सेना, रामचन्द्र रायमाझीलगाएतले कृषि, पर्यटन, पत्रकार सबलिकरण कार्यक्रम, पारदर्शिता, दलित, विपन्न वर्ग, शुसासन, अनुगमनका बिषयमा सुझाव व्यक्त गर्नुभयो ।