
विजयकुमार बौडेल –
१८ बैशाख – नेकपा एमालेका तर्फबाट तानसेन नगरपालिकाका मेयर पदका उम्मेद्वार धनेन्द्र घिमिरेले कार्यालयलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाउन अग्रसर हुने बताउनुभएको छ ।
नागरिकहरुले घण्टौं लाईन लाग्नुपर्ने, समय व्यतित गर्नुपर्ने समस्या प्रत्यक्ष रुपमा भोगेको र देखेको भन्दै सबै प्रणाली अनलाईनमार्फत सञ्चालन गर्न अग्रसर हुने बताउनुभएको हो । तानसेन नगरपालिका वडा नं. १२ बौघागुम्बाको चुनावी सभालाई संबोधन गर्दै घिमिरेले टाढाटाढाका सेवाग्राहीलाई समय र पैसाको नास गरेर कार्यसम्पादन गर्न तानसेन आउनुपरेको भन्दै धेरै सेवा अनलाईनमार्फत सञ्चालन गर्ने बताउनुभएको हो ।
सुरुमा तानसेन नगरपालिका बाट यसको सुरुवात गर्ने र विस्तारै वडा तहसम्म यसको विस्तार गर्दै लैजाने घिमिरेले बताउनुभयो । अब स्थानीय तहको प्रशासन फेसलेस, पेपरलेस र क्यासलेस हुन जरुरी रहेको भन्दै हरेक सरकारी कार्यालय डिजिटल बन्नुपर्ने बताउनुभयो । घिमिरेले नयाँ–नयाँ प्रविधिको विकास गर्दै टेक्नोलोजी ट्रान्सफर पनि गरिने बताउनुभयो ।
इन्टरनेटको माध्यमबाट घरमै बसीबसी राजश्व बुझाउन सकिने, पञ्जीकरणका कागजपत्र लिन सकिनेलगाएतका काम गर्न अग्रसर रहेको घिमिरेले बताउनुभयो ।