विजयकुमार बौडेल –
चैत्र २१ – नेकपा एमाले पाल्पाले पाल्पा अस्पताललाई थप सेवा सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गरी विशेषज्ञ सेवा समेतको व्यवस्था गर्न माग गरेको छ ।
एमाले पाल्पाले ध्यानाकर्षण गराउँदै स्वास्थ्य विमाको प्रथम सेवा प्रदायक अस्पतालबाट सहज र सुलभ ढंगले सिफारिस उपलब्ध हुने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रेस विज्ञप्ती जारी गर्दै एमाले पाल्पाले अस्पतालहरुले स्वास्थ्य विमाको रकम उपलब्ध नभएको बहानामा जनतालाई सेवा नै नदिने सार्वजनिक घोषणा फिर्ता गरी निर्वाध रुपमा सेवा संचालन गर्ने प्रवन्ध मिलाउन सम्बन्धित अस्पतालहरुको ध्यानकर्षण गराएको छ ।
नेकपा (एमाले) पाल्पाले अस्पतालहरुले स्वास्थ्य विमाबाट जनतालाई सेवा दिए वापतको बक्यौता रकम तत्काल उपलब्ध गराउन नेपाल सरकारसंग समेत माग गरेको छ । “जनताको स्वास्थ्य उपचार राज्यको दायित्व अन्तर्गत पर्दछ भन्ने मान्यता अनुरुपनै पूर्ववर्ती सरकारले जनहितका लागि गरेको स्वास्थ्य विमा कार्यक्रमले जनतालेप्राप्त गर्दै आइरहेको स्वास्थ्य विमा सुविधाका बारेमा विभिन्न अस्पतालहरुले बक्तव्य नै जारी गरि सेवा दिन नसकिने जानकारी गराएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।” विज्ञप्तीमा भनिएको छ ।
पार्टी अध्यक्ष धनेन्द्रराज घिमिरेद्धारा हस्ताक्षरित विज्ञप्तीमा स्वास्थ्य जस्तो गम्भीर र संवेदनशिल विषयमा सरकार दिन प्रतिदिन गैरजिम्मेवार हुदै गईरहेको भन्दै एमाले पाल्पाले जनताले निर्वाध रुपले स्वास्थ्य सेवा पाउने परिस्थिती निमार्ण गर्न नेपाल सरकार र सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण गराईएको छ ।