
पाल्पा । तानसेन नगरपालिका र लुम्बिनी गार्डेन फाउन्डेसन, स्पेनबीच पाँच बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाही र स्पेनको कासेरस सहरस्थित लुम्बिनी गार्डेन फाउन्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
पाल्पाको ऐतिहासिक शहर तानसेन र स्पेनको कासेरस शहरबीच चालिआएको संस्कृति तथा परम्परा आदानप्रदान गर्ने, दुई पालिकाबीच कृषि, प्रविधि, स्वास्थ्य र परम्परागत ज्ञान आदानप्रदान गर्ने समझदारीपत्रमा उल्लेख गरिएको छ । यसैगरी समझदारीपत्रमा तानसेन र स्पेनको कासेरस शहरले एक अर्काको पर्यटन प्रर्वद्धन गर्ने, कासेरस शहरलाई अन्तर्राष्ट्रिय रुपमा मानव शान्ति र सम्पदाको शहरको रुपमा प्रर्वद्धन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै बौद्ध धर्मका मुख्य सिद्धान्त शान्ति, मैत्री, अहिंसा, दया र करुणाको प्रर्वद्धन गर्ने, असमानता र द्वन्द्वलाई निरुत्साहित गर्ने समझदारीमा रहेको लुम्बिनी फाउन्डेसनका महासचिव एकराज गिरीले बताए । गिरीले यस अभियानमा अब तानसेन नगरपालिका साथै लुम्बिनी वरीपरीका अन्य पालिकाहरु संग समेत सहकार्य गरिएको बताए ।
समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले यो समझदारीले आर्थिक विकास, मानवीय विकाससँगै अन्तर्राष्ट्रिय मानचित्रमा नेपाललाई चिनाउन जरुरी रहेको बताए । उनले सर्वोच्च शिखर सगरमाथा र बुद्ध जन्मस्थल लुम्बिनीलाई संसारभर चिनाउन जरुरी रहेको बताए । उनले हतियारले कहिल्लै शान्ती नहुने हुँदा भगवान बुद्धको शान्ती र अहिंशाको संदेश संसारभर फैलाउन जरुरी रहेको बताए ।
राष्ट्रिय सभाका सदस्य राजेन्द्र लक्ष्मी गैरेले तानसेनसँगको स्पेनको फाउन्डेसनको साझेदारीले पर्यटकीय क्षेत्रमा फाइदा पुग्नुका साथै पाल्पाका सांस्कृतिक धरोहरहरुलाई लुम्बिनी मार्फत संसारमै परिचित गराउन सहयोग पुग्ने बताइन् ।समझदारीपत्रमा हस्ताक्षर गदै तानसेन नगरपालिकाका नगरप्रमुख अशोक कुमार शाहीले शान्ती बिनाको समृद्धि अधुरो रहने हुँदा मानव संस्कृतिलाई बचाउन बुद्ध सन्देश आवस्यक रहेको बताए ।
प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले बुद्धको जन्मस्थल, अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने बिशाल बुद्धको मूर्तिका साथै त्यससँग सम्बन्धित भएर तानसेन नगरपालिका पनि बुद्ध सर्किटमै जोडिएको र यस मार्फत तानसेनमा सहयोग र प्रविधी भित्रयाउने लक्ष्य रहेको बताए ।