विजयकुमार बौडेल –
चैत्र १६ – नेपाल पत्रकार महासंघ पाल्पा शाखाले महासंघको कार्यालय परिसर सरसफाई गरी ६७ औँ स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसका अवसरमा महासंघ पाल्पाले तानसेनमा रहेको कार्यालय परिसरको सरसफाई गरि स्थापना दिवस मनाएको हो । महासंघले शाखा अध्यक्ष, पुर्व अध्यक्ष, पदाधिकारी, पुर्व पदाधिकारी, साधारण सदस्य लगाएतको सहभागीतामा कार्यालय परिसर सरसफाई गरेको हो ।
महासंघका पाल्पाका अध्यक्ष रेखीराम रानाले वर्तमान कार्यसमितिले प्रेस स्वतन्त्रता, श्रमजिवीको सवाललाई केन्द्रविन्दुमा राखेर आफ्नो रणनीति निर्माण गर्ने र काम गर्ने बताउनुभयो । रानाले कोरोना महामारीबाट नेपाली पत्रकारितामाथि गम्भीर चुनौती थपिएको र त्यसलाई महासंघले आवश्यक सम्बोधन गरेर श्रमजीवी पत्रकारको पेशागत अधिकार स्थापित गर्ने तथा संचार संस्थाहरूको सवलीकरणको दिशामा काम गर्ने दायित्व महसुस गरेको बताउनुभयो ।
महासंघका निवर्तमान अध्यक्ष राजेशकुमार अर्यालले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन र न्यूनतम पारिश्रमिकको भुक्तानी अवस्थामा सुधार भएपनि समस्या हटिनसकेको भन्दै समग्रमा नेपाली मिडिया उद्योगको संस्थागत विकास र श्रम अधिकारको स्थापनाका लागि यस क्षेत्रमा आवद्ध सवैको साझा सरोकार हुनुपर्ने खाँचो भएको बताउनुभयो ।
वि.सं. २०१२ साल चैत १६ गते कृष्णप्रसाद भट्टराईसहितले स्थापना गरेको संगठनले धेरै उतारचढाव पार गर्दै ६६ वर्ष पूरा गरेको छ । तीन तहका सरकारले बनाउँदै गएका कानुनहरूका कतिपय व्यवस्थाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार हनन् हुने अवस्था सिर्जना भइरहेको प्रती सरकारको ध्यानाकर्षण हुन जरुरी छ ।