विजयकुमार बौडेल –
फागुन २८ – पाल्पा सार्की परिवारले एकजना गम्भिर बिरामीलाई आर्थिक सहयोग गरेको छ ।
रिब्दीकोट वडा न ६ का ३६ वर्षीय सन्त बहादुर बम्रेललाई एप्लास्टिक एनीमिया रोग लागेर उपचारमा आर्थिक अभाव भएपछी परिवारले आर्थिक सहयोग गरेको हो । कुवेतको एक कम्पनीमा वैदेशिक रोजगारका लागि गएका बम्रेल केही वर्षमा आफुलाई एप्लास्टिक एनीमिया भएर काम गर्न नसके पछि बम्रेललाई स्वदेश फिर्ता पठाई दिएको थियो । आर्थिक अभाव भएका बम्रेललाई १८ हजार ५ सय रुपैंया सहयोग हस्तान्तरण गरेको पाल्पा सार्की परिवारका अध्यक्ष गोपाल हितांगले जानकारी दिनुभयो ।
स्वदेश फिर्ता भए लगत्तै नेपालमा रहेका विभिन्न अस्पतालहरूमा बुझ्दा उपचार हुन नसक्ने भएपछि भारतको नयाँ दिल्ली स्थित गुरूगाउको फोर्टिस मेमोरियल रिसर्च इन्स्टिच्यूटमा उपचाररत दाजुको उपचारका निम्ति भाई रेशम बम्रेलले सबैसँग सहयोगको अपिल गर्नुभएको छ ।
बम्रेलले घरको अवस्था झन् झन् बिग्रँदो भएको भन्दै दाजुलाई सबैले आफ्नै दाजु सम्झिएर बचाइदिन अनुरोध गर्नुभयो । अस्पतालले शल्यक्रिया गर्न भारतीय १५ देखि २० लाख रुपैयाँ लाग्ने बताएको छ । रोगले पीडित सन्त बहादुर अहिले गुरगाउ अस्पतालको शैय्यामा छटपटाइरहनुभएको छ । पैसाको जोहो गरे मात्रै शल्यक्रिया गर्ने अस्पताल प्रशासनले बताएको रेशमले जानकारी दिनुभयो ।
गाउँमा रहेको घर जग्गा बैंकमा बंधक राखेर केही पैसा निकाल्न गएका रेशमले बैंकले ऋण नदिए पछि गाउँमै आफन्त, साथीभाईहरूसँग सयकडा २ का दरले लिएको ऋण पनि सकिएको बताउनुभयो । घरको आर्थिक स्थिती कमजोर भएको कारणले भारतीय २० लाख रुपैयाँ जुटाउन ठुलो संकट भएको भाई रेशमले बताउनुभयो ।