
विजयकुमार बौडेल –
फागुन २७ – जिल्ला प्रहरी कार्यालय पाल्पाले विभिन्न स्थानबाट सङ्कलित अवैध घरेलु मदिरा नष्ट गरेको छ । स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीको रोहबरमा प्रहरीले बरामद गरिएको २ सय लिटर मदिरा नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी लक्ष्मण पचभैयाले कार्यालयकै परिसरमा अवैध घरेलु मदिरा नष्ट गरेको जानकारी दिनुभयो । उहाँका अनुसार तयारी अवस्थाको करिव २ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको हो । दुई चरणमा जफत गरिएको मदिरा नष्ट गरिएको प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मदिरासहित बरामद गरिएका भाँडाकुडा प्रहरी कार्यालयमै राखिएको छ । सुचना अधिकारी पचभैयाले पहिलोपटक सचेत गराउने र दोस्रोपटक अवैध मदिरा उत्पादन गरेको पाइएमा सङ्कलित प्रमाणसहित आन्तरिक राजश्व कार्यालयमा पठाइने बताउनुभयो ।
गाउँघरमा छ्याप्छ्याप्ती पाइने घरेलु मदिराका कारण हिंसात्मक घटना हुनसक्ने भएकाले प्रहरीले मदिरा नियन्त्रणमा लिने काम गरिरहेको छ । अवैध मदिरा उत्पादन, ओसारपसार र विक्री वितरण निरुत्साहित गरि समाजमा आपराधिक घटना नियन्त्रण गर्ने उदेश्यले अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ । बरामद गरेको अवैध मदिरा संचारकर्मीको रोहबरमा पोखेर नष्ट गरेको हो ।