पाल्पा – तानसेन नगरपालिकाले ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
नगरपालिकाले सबै वडाका महिलाहरुलाई सहभागी गराएर सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको शुनिश्चितता विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालिएको हो ।
कार्यक्रममा तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले नेपाली महिलाका लागि नेपालको संविधान उदार रहे पनि यसको कार्यान्वयन पक्ष फितलो रहँदा महिला पुरुषको तुलनामा पछि नै परेको बताउनुभयो । नगरप्रमुख शाहीले पहिलेको तुलनामा महिलालाई हेर्ने दृष्टिकोण धेरै नै परिवर्तन भएका र समयसंगसंगै परिवर्तन भए पनि मानसिकता भने परिवर्तन हुन नसकेको बताउनुभयो ।
कार्यक्रममा तानसेन नगरपालिकाकी नगरउपप्रमुख तथा कार्यक्रम संयाेजक लक्ष्मीदेवी पाठकले संविधानकको मर्म अनुसार तिनै तहको निर्वाचन पश्चात स्थानीय सरकारमा महिला सहभागि भएका र संघ, प्रदेश, स्थानीय तहमा महिलाको उपस्थिति बाक्लै देखिएपनी उनीहरुको कुरा कही पनि सुनुवाई नभएको धेरै उदाहरण भएको बताउनुभयो । उपप्रमुख पाठकले निर्णायक प्रक्रियामा महिलालाई सहभागि नै नगराईने र सहभागी भए पनि उनीहरुको कुराको त्यहाँ कुनै महत्व नहुने बताउनुभयो ।
कार्यक्रममा तानसेन नगरकार्यपालिका सदस्यहरु शशि श्रेष्ठ, विमला बौडेल, मैयादेवी घिमिरे, न्यायिक समिति सदस्य विनिता लुईंटेल, प्रेस सल्लाहकार गोविन्द भट्टराई, पत्रकार विजय बौडेल, वडा सदस्यहरु सिता कार्की, सिता बस्नेत, शान्ति झेंडी, गिता भट्टराई, गंगा रोकायालगाएतले आमाहरुको पालामा महिला घरभित्रै सिमित रहनु पर्छ भन्ने सोचाई परिवर्तन भएर धेरै संख्यामा घर बाहिर निस्कन थाले पनि कार्यस्थल र कार्यस्थलमा गरिने व्यवहार भने यथावत रहेको कुरामा जोड दिनुभयो ।