रैनादेवी छहरा, तिनाउ र रिब्दीकोटकाे मात्र नयाँ प्रशासनिक भवन

पाल्पा –

पाल्पामा १० स्थानीय तह बन्नुअघि ८ वटा स्थानीय तहको प्रशासनिक भवन बनेको थिएन । तानसेन र रामपुर नगरपालिकाको मात्रै पुरानै प्रशासनिक भवन थियो । बाँकी ८ वटा स्थानीय तहले तत्कालिन गाविसको भवनमा प्रशासनिक काम गर्नुपर्ने बाध्यता थियो ।

वि.स.२०७४ साल असार १४ गते स्थानीय तहको निर्वाचन भयो । निर्वाचनबाट नयाँ जनप्रतिनिधि स्थानीय तहको नेतृत्वमा आइपुगे । जनप्रतिनिधिले नेतृत्व गरेको झण्डै पाँच वर्ष पुगेको छ । यद्यपी आफू बस्ने र जनतालाइ सेवा दिने भवन भने अहिलेसम्म अधिकांशले बनाउन सकेका छैनन् ।

निर्वाचनपछि पाँच वर्षको अबधिमा ३ स्थानीय तहले मात्रै आफ्नै प्रशासनिक भवन निर्माण गर्न सकेका छन् । जिल्लाका दुई नगरपालिका तानसेन र रामपुर नगरपालिकाको स्थानीय तह बन्नुअघि नै आफ्नै भवन बनेका थिए । बाँकी आठ वटा स्थानीय तहमध्ये रैनादेवी छहरा, तिनाउ र रिब्दीकोट गाउँपालिकाको प्रशासनिक भवन बनेको छ । माथागढी, पूर्वखोला, रम्भा, निस्दी र बगनासकाली गाउँपालिकाले अहिलेसम्म आफ्नै प्रशासनिक भवन बनाउन सकेका छैनन् ।

जिल्लाको रैनादेवी छहराले चार करोड ५० लाख लागतमा पालिकाको केन्द्र छहरामा दुई तले भवन निर्माण सम्पन्न गरेको छ । भवन सम्पन्न भएकाले अब निकट भविष्यमै सोही भवनबाट सेवा दिइने गाउँपालिकाका सूचना अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । रिब्दीकोटले एक वर्षअघि नै तत्कालिन खस्यौली गाविसको भवनमा तला थप गरेर सोही स्थानबाट पालिकाको प्रशासनिक काम गरिरहेको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बताउनुभयो ।

पछिल्लो पाँच वर्षको अबधिमा तिनाउ गाउँपालिकाले एकतले प्रशासनिक भवन निर्माण गरेको छ । गाउँपालिकाको दुई करोड सात लाख खर्चमा प्रशासनिक भवन बनाएर सोही भवनबाट सेवा सुरुआत गरेको प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताउनुभयो । अढाइ तले भवन बनाउने योजना भएपनि हाललाई एकतले भवनबाटै सेवा दिइएको उहाँले जानकारी दिनुभयो ।
जिल्लाको बगनासकाली, माथागढी, रम्भा, निस्दी, पूर्वखोला प्रशासनिक भवन समेत बनाउन सकेका छैनन् । बगनासकालीले चिलाङ्दीमा पालिकाको प्रशासनिक भवन बनाउन भर्खरै टेण्डर आह्वान गरेको छ ।

पूर्वखोला गाउँपालिकाले टेण्डरमार्फत व्यवसायी छनौट गरेर भवन निर्माणको काम गरिरहेको जनाएको छ । यस्तै माथागढी गाउँपालिकाले हालसम्म प्रशासनिक भवन बनाउन सकेको छैन । माथागढीले यसअघि झडेवा गाविसले बनाएको भवनबाटै प्रशासनिक सेवा दिइरहेको छ ।

जिल्लाको निस्दी गाउँपालिकाले समेत हालसम्म आफ्नै प्रशासनिक भवन बनाउन सकेको छैन । गत वर्षदेखि निस्दीको झ्याटुङ्मा प्रशासनिक भवन बनाउन सुरु गरिएको गाउँपालिकका प्रवक्ता मेखबहादुर सुनारीले जानकारी दिनुभयो । पालिकाको प्रशासनिक काम भने तत्कालिन मित्याल गाविसको भवनबाटै भइरहेको छ । नयाँ भवन बनाउन ५ करोड ५० लाख बढी लागतमा काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताउनुभयो ।

रम्भाको पनि हालत उस्तै छ । रम्भाले केन्द्र कहाँ राख्ने भन्ने टुङ्ग्याउन नसक्दा हालसम्म पालिकाको प्रशासनिक भवन बनाउन सकेको छैन । पालिकाले तत्कालित पिपलडाँडा गाविसको भवनबाटै सेवा दिइरहेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले बताउनुभयो । भवन कहाँ बनाउने भन्ने टुङ्गो समेन नलागेको ढकालले बताउनुभयो ।

 

www.eranimahal.com बाट साभार

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय