विजयकुमार बौडेल –
फागुन १५ – बेथल जुनियर रेडक्रस सर्कल तानसेनले विद्यालयको २५ औं वार्षिकोत्सव तथा रजत जयन्ती – २०७८ को अवसरमा ता.न.पा.–१३, बोटेगाँउ, छेर्लुङको राधाकृष्ण प्रा.बि.मा अध्ययनरत ४९ जना विद्यार्थीहरुलाई स्कूल झोला तथा स्टेशनरी सामग्री वितरण गरेको छ ।
जुनियर रेडक्रस सर्कलका अध्यक्ष स्नेहा रानाले बेथल बोर्डिङ स्कुलका बिद्यार्थीहरुले टिफिन खाने पैसावाट केही रकम बचाएर संकलन गरेको रकम तथा विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुद्वारा सहयोग गरिएको रकमबाट सामग्री सहयोग गरेको बताउनुभयो ।
कार्यक्रममा राधाकृष्ण प्रा.बि. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवन्तबहादुर पि.सि.ले सदरमुकामदेखि टाढा रहेको तथा बहुसंख्यक विद्यार्थी बोटे समुदायबाट अध्ययन गर्ने सामुदायिक विद्यालयलाई निजी विद्यालयलले सहयोगको हात बढाई जुरेसमा आवद्घ विद्यार्थीहरुबाट झोला तथा स्टेशनरी सामग्री वितरण गरेको कार्य अत्यन्तै सह्रायिन रहेको र यस्तो कार्यले सामुदायिक र संस्थागत विद्यालयहरुको सहकार्य तथा शैक्षिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विचार ब्यक्त गर्नुभएको सर्कलका उपाध्यक्ष बिरिश सारुले जानकारी दिनुभयो ।
बेथल बोर्डिङ स्कुलका प्रिन्सिपल तथा जु.रे.स.का संरक्षक खेमबहादुर सारुले यस किसिमको सहयोग विद्यार्थीहरुलाई कुनै सहानुभुतीको सोचबाट नभएर शैक्षिक उन्नयनका लागि सहकार्यको भावनाले गरेको र भविष्यमा पनि यस्तै सहयोगहरु निरन्तर रहने बताउनुभयो । शिक्षक महासंघ पाल्पाका पूर्व अध्यक्ष देबीप्रसाद भट्टराई, वडा नं १३ का वडा सदस्य राधा बि.क., विद्यालयका पूर्व अध्यक्ष खड्कबहादुर के.सि., समाजसेवी लिलाराज भट्टराई, अभिभावक तथा निगरानी समूहका अध्यक्ष शर्मिला के.सि. सहायक प्र.अ. अच्युत भट्टराईले दुरदराजमा रहेको विद्यालयलाई बेथल स्कुल जुनियर रेडक्रस सर्कलद्वारा गरिएको सहयोगको उच्च प्रशंसा गर्नुभएको सर्कलका सचिव नितेश दर्लामीले जानकारी दिनुभयो ।