फागुन १३ – राष्ट्रिय युवा संघ नेपाल पाल्पाको अध्यक्षमा विष्णु आचार्य सर्वसम्मत चयन हुनुभएको छ ।
राष्ट्रिय युवा संघ नेपाल पाल्पाको नवौँ जिल्ला अधिबेसनबाट आचार्य सहित उपाध्यक्षमा कृष्ण कार्की, सचिवमा बिजय रानाभाट, उपसचिवमा भेष बहादुर गाहा र निर्मल न्यौपाने तथा कोषाध्यक्षमा सुधिर भट्टराई चयन हुनुभएको छ । अधिवेशनले ६१ सदस्सिय जिल्ला कमिटी चयन गरेको हो ।
अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अथिती राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय अध्यक्ष किरण पौडेलले संविधान सभाको निर्वाचन, निरंकुश राजसंस्थाको अन्त्य, लोकतान्त्रीक गणतन्त्रको स्थापना, मधेश आन्दोलन, जातिय क्षेत्रिय आन्दोलन, संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको घोषणा लगाएतका राजनैतिक घटनाक्रममा यूवाहरुको महत्वपुर्ण योगदान रहेको बताउनुभयो ।
पौडेलले २००७ साल पछिका राजनैतिक घटनाक्रमहरु र परिवर्तनहरुमा तत्कालिन अवस्थाका नेपाली युवाहरुले आफुलाई महत्वपुर्ण भुमिकाको रुप स्थापित गरेको भन्दै तिनैको बलमा यि परिवर्तनहरु संभव भयो र विचार तथा संगठनको हिसाबले त्यसको अगुवाई २०४६ साल पछि हालको राष्ट्रिय युवा संघ नेपालले गर्दै आएको बताउनुभयो । पौडेलले अब आउने निर्वाचनमा एमालेलाई बहुमत सिट सहितको पहिलो पार्टी बनाउन सम्पूर्ण युवाहरु एकजुट भएर लाग्न निर्देशन समेत दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रएमाले पोलिटब्यूरो सदस्य तथा पाल्पा ईन्चार्ज ठाकुर गैरेले मुलुकको पहिलो शक्ति एमाले अझै बलियो बन्दै गएको बताउनुभयो । गैरेले अन्य पार्टी कमजोर भएकाले एमालेविरुद्ध सबै एक ठाउँमा आएको बताउनुभयो । एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले अन्याय अत्याचारविरुद्ध राष्ट्रिय युवा संघ, नेपालले आवाज उठाउनुपर्ने बताउनुभयो ।
राष्ट्रिय युवा संघ, नेपाल केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश संयोजक तुल बहादुर अधिकारीले यूवाहरुले अब अन्यायविरुद्ध जोडदार रुपमा आवाज उठाउनुपर्ने बताउनुभयो । अधिकारीले अब युवाले मुलुककै नेतृत्व लिन सक्ने र आगामी एमाले नै देश र जनताको हितमा काम गर्ने पार्टी भएको बताउनुभयो ।
राष्ट्रिय युवा संघ, नेपाल पाल्पाका निवर्तमान अध्यक्ष टिका थापाले हजारौं युवाहरु गोलवन्द भएको र परिवर्तनको खातिर आफुलाई बलिदान दिनको लागी तयार भएको भन्दै त्यसको उपलव्धीको उपभोग अहिले नेपाली समाजले गरिरहेको बताउनुभयो ।