पाल्पाको जनसंख्या घट्यो, सबैभन्दा बढी जनसंख्या तानसेनको, कम रिब्दीकोटको

विजयकुमार बौडेल – 

माघ १४ – पाल्पाको जनसंख्या २ लाख ४२ हजार ४ सय २३ पुगेको छ । जनगणना २०७८ अनुसार जिल्लाको जनसंख्या जनगणना २०६८ को तुलनामा १८ हजार ७ सय ५७ घटेको छ । १० वर्ष अगाडि २०६८ मा भएको जनगणना अनुसार पाल्पाको २ लाख ६१ हजार १ सय ८० थियो । यो घटेर अहिले २ लाख ४२ हजार ४ सय २३ पुगेको हो ।

तथ्यांक अनुसार जिल्लामा पुरुषको तुलनामा महिलाको जनसंख्या बढी छ । १ लाख ११ हजार ९ सय ४० जना पुरुष हुँदा महिलाको जनसंख्या १ लाख ३० हजार ४ सय ८३ छ । जिल्लामा पुरुषको भन्दा महिलाको जनसंख्या १८ हजार ५ सय ४३ ले बढी छ । जिल्लाको जनसंख्या बृद्धिदर माईनस ०.७२ प्रतिशत रहेको छ ।

पाल्पामा ५६ हजार २ सय ७५ घरमा ६४ हजार ३ सय १८ परिवार बस्ने गरेका छन् । पाल्पामा १ सय ७७ जना प्रति वर्गकिलोमिटर जनघनत्व रहेको छ । पाल्पामा ८५.७९ प्रतिशत लैंगिक अनुपात रहेको छ भने परिवारको औषत आकार ३.७७ रहेको तथ्यांकमा उल्लेख छ ।

दुई नगरपालिका र आठ गाउँपालिका मध्ये जिल्लामा सबैभन्दा बढी जनसंख्या भएको नगरपालिका तानसेन रहेको छ । तानसेनको जनसंख्या कुल ५१ हजार ४ सय ७० रहेको छ । जसमा पुरुष २३ हजार ९ सय २७ र महिला २७ हजार ५ सय ४३ जना छन् । तानसेनमा १० हजार ९ सय १९ वटा घर छन् । जिल्ला सदरमुकाम रहेको तानसेन नगरपालिकामा १४ हजार ८ सय ६५ घर परिवार छन् ।

त्यस्तै जिल्लामा सबैभन्दा कम जनसंख्या भएको गाउँपालिका रिब्दीकोट रहेको छ । रिब्दीकोटको जनसंख्या कुल १५ हजार ६ सय ३६ रहेको छ । जसमा पुरुष ७ हजार १ सय ९५ र महिला ८ हजार ४ सय ४१ जना छन् । सबैभन्दा कम घर हुने गाउँपालिका भने पुर्वखोला रहेको छ । पुर्वखोलमा ३ हजार ६ सय ६० घर रहेको छ ।
सबैभन्दा कम परिवार रहेको गाउँपालिका निस्दी रहेको छ । निस्दीमा ४ हजार ७५ परिवार रहेका छन् ।

जिल्लाका सबै स्थानीय तहमा पुरुषको तुलनामा महिलाको संख्या बढी छ । सबैभन्दा कम अन्तर तिनाउ गाउँपालिकामा रहेको छ । तिनाउमा पुरुष भन्दा १ हजार ३५ महिला बढी छन् । त्यस्तै सबैभन्दा बढी अन्तर रामपुर नगरपालिकामा रहेको छ । रामपुरमा पुरुष भन्दा ३ हजार ६ सय ४० महिला बढी रहेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय