तानसेन नगरपालिका द्धारा फेमिली कार्ड वितरण

विजयकुमार बौडेल, पाल्पा

५ पौष – तानसेन नगरपालिकाले घरपरिवारको लगत विवरण संकलन गरि फेमिली कार्ड वितरण गरेको छ ।

नगरपालिका भित्रका सबै घरपरिवारहरुको विवरण संकलन गरेर फेमिली कार्ड वितरण गर्ने भएको हो । एक कार्यक्रमको आयोजना गरि पहिलो चरणमा प्रतिनिधिमुलक रुपमा वडा नं. ६ का केही नागरिकलाई फेमिली कार्ड वितरण गरेको हो । नगरपालीकाले सबै वडामा गणकहरु खटाएर घरपरिवारको तथ्यांक संकलन गरेको छ । लगत संकलनमा १४ जना गणकहरुले तथ्यांक संकलन गरेका छन् ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले नागरिक र परिवारको डिटेल अपडेट गरि प्रविधिमैत्री बनाउन तथ्यांक संकलन गरिएको बताउनुभयो । नगरप्रमुख शाहीले नागरिक र कार्यालयलाई पेपरलेस बनाउँदै लैजाने योजना समेत रहेको भन्दै त्यसको पुर्वतयारी अनुरुप तथ्यांक संकलन गरिएको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले तानसेन नगर कमिटि अध्यक्ष गुरास आत्रेयले नगरपालिकाले संक्रमणकालीन अवस्थामा नागरिकले घरमै बसेर ईपेमेण्ट गर्ने गरि सुरु गर्न लागेको फेमिलि कार्ड वितरण प्रभावकारी र अनुकरणीय भएको बताउनुभयो । नेपाली कांग्रेस तानसेन नगर सभापती सुवर्णमुनी शाक्यले नगरपालिकाले आफ्नो पहिचान दिने गरि गरेको कामको प्रशंसा गर्नुभयो । माओवादी केन्द्रकी नगर अध्यक्ष प्रतिक्षा सिंजालीले प्रविधिको यूगमा घरबाटै एक क्लिको भरमा जानकारी लिन सकिने प्रणालीको विकास गरेकोमा नगरपालिकालाई धन्यवाद व्यक्त गर्नुभयो ।

नगरपालिकाका सुचना प्रविधी अधिकृत प्रकाश गैरेले पछिका दिनमा नगरपालिका भित्र हुने सम्पुर्ण कामका लागि प्रयोग हुने गरि फेमिली कार्डको सोंच ल्याएको बताउनुभयो । अधिकृत गैरेले नाता प्रमाणित, व्यक्तिगत घटना दर्ता, नागरिकता सिफारिस साथै वडा कार्यालयबाट दैनिक रुपमा प्रवाह हुने सेवा सुबिधा लिनको लागि यस पारिवारिक लगत कार्डले सहज बनाउने अपेक्षा लिइएको बताउनुभयो ।

फेमिलि कार्ड बाट बाट करको चुहावट रोक्ने सकिने, नगर पालिका बाट प्रवाह हुने E-Service लिन सहयोग मिल्ने, घर नक्शा सम्बन्धि काम हुने, Smart City को अवधारणालाई साकार पार्न टेवा पुग्ने नगरपालिकाले विश्वास लिएको छ ।

फेमिली कार्डमा नागरिकता विवरण, परिवारका सबै सदस्यको विवरण लगाएत समावेश हुने छन । यसबाहेक पारिवारिक स्वास्थ्य अवस्था, चर्पीको प्रयोग, बैदेशिक रोजगारी विवरण, घरजग्गाको विवरण, आर्थिक विवरण, नगरपालिका बाट पाएका सेवा सुविधा, पञ्जिकरण लगाएतका जानकारी फेमिली कार्डको बार कोड मार्फत हेर्न मिल्ने छ ।

नगर सुचना व्यवस्थापन प्रणाली अन्तरगत फेमिली कार्ड निर्माण र वितरण गरिन लागेको नगरपालिकाका सामाजिक विकास साखा अधिकृत भरत आचार्यले जानकारी दिनुभयो ।

फेमिली कार्डमा डिजिटल माध्यमबाट अध्ययन गर्न सकिने बार कोड, घर नम्बर, फेमिली आईडी नम्बर समावेश गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डेयले बताउनुभयो । जसमार्फत नगरपालिकाले सहज रुपमा नागरिकको सुचना प्राप्त गरि कार्यसम्पादन छिटो र सरल हुने विश्वास लिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय