सिता गौतम –
माघ १० – प्रसिद्ध धार्मिक स्थल भैरवस्थान मन्दिर भक्तजनका लागी बन्द गरिएको छ ।

देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो । कोरोना तीव्ररुपमा फैलिएपछि भक्तजनका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर अधिकारीले बताउनुभयो । मन्दिरमा नित्य पूजाबाहेक अन्य सबै पूजाआजा बन्द गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
“कोरोना सङ्क्रमण दर दिनानुदिन बढ्दो छ”, अधिकारीले भन्नुभयो, “पूजाआजाका लागि भक्तजनको भीड हुने भएकाले सङ्क्रमण फैलने डरले पूजाआजामा रोक लगाउने निर्णय गरिएको हो ।”
जिल्ला प्रसाशन कार्यलय पाल्पाको आदेश अनुसार अर्काे सुचनाको आदेश नआए सम्म भक्तजनको लागी मन्दिर बन्द गरिएको व्यवस्थापन समितिले जनाएको छ । दैनिक नित्यपुजा मन्दिर बाटै हुनेछ भने भक्तजन बाट पञ्चवली लगाएत अन्य पुजा र अवलोकन पुर्ण रुपमा बन्द गरिएको मन्दिर व्यवस्थापक मिन बहादुर बुढाथोकीले बताउनुभयो ।
दैनिक रूपमा हजारौं धार्मिक पर्यटक भित्रीने धार्मिक आस्थाको केन्द्र यतिबेला निषेधाज्ञाको चपेटामा पर्दा दैनिक रूपमा हुने हजारौंको आम्दानी समेत गुम्न पुगेको छ । प्रसिद्ध धार्मिक शक्ति भैरवस्थान मन्दिरमा पुजा अर्चना गरे आफ्नो मनोकांक्षा पूरा हुने जनबिश्वासका कारण देशभरि बाट सयौं भक्तजन आउने गरेका थिए ।

