
विजयकुमार बौडेल –
माघ ८ – तानसेन नगरपालिकाले उत्पादित कृषी सामग्री ढुवानीका लागी महिला उद्यमीहरुलाई अनुदानमा गाडी हस्तान्तरण गरेको छ ।
तानसेन १० सुनडाँडाको सिद्धिविनायक सामाजिक महिला उद्यमी सहकारी संस्था लिमिटेडलाई तानसेन नगरपालिका, हेफर ईन्टरनेशनल र ग्रामिण आर्थिक विकास संघ रेडाको सहयोगमा कृषी सामग्री ढुवानीका लागी बोलेरो गाडी हस्तान्तरण गरेको हो । नगरपालिकाले सिद्धिविनायक संगै अन्य ३ सहकारीलाई समेत गाडी हस्तान्तरण गरेको हो । कृषी उत्पादनको मुल्य निर्धारण गर्ने र उत्पादित सामग्री बजार सम्म लैजान महिला सहकारीले नेतृत्व गर्न आवश्यक रहेको तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले बताउनुभयो ।
तानसेन नगरपालिका र ग्रामिण आर्थिक विकास संघ रेडाले तानसेन १० का महिलाहरुलाई बाख्रापालन, बंगुरपालन, तरकारी खेती लगाएतमा प्रविधि, विउ समेत सहायता गरेको ग्रामिण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लिला बहादुर कार्कीले बताउनुभयो । सिद्धिविनायक सामाजिक महिला उद्यमी सहकारी संस्था लि. की अध्यक्ष केशरी रानाले किसानले उत्पादन गर्ने तरकारी, खसीबाख्रा ढुवानी गर्न थप सहज हुने बताउनुभयो । नगरपालिकाले गाडी अनुदानमा दिएपछी सहकारीले ७ सदस्यिय गाडि सञ्चालन समिति बनाएर काम गर्ने भएको छ ।
सहकारीको आफ्नै गाडी भएपछी किसानहरु खुसी भएको र उत्पादित कृषी उपज बाटोसम्म बोकेर जाने समस्या हटेको र बँचेको समय तरकारी उत्पादनमा लगाउन सकिने कृषक नारायणी विष्टको भनाई छ ।
किसानले कृषी उत्पादन एक्लाएक्लै बजारसम्म लैजाँदा मुल्य नपाउने समस्या थियो । सहकारीलाई गाडि अनुदान प्राप्त भएपछी तरकारी संकलन केन्द्रमा जम्मा गरेर सामुहिक रुपमा विक्रि गर्दा किसानलाई फाईदा हुने विश्वास छ ।