विजयकुमार बौडेल
माघ ४ – तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाको संयुक्त बैठकले रानीघाट क्षेत्रको थप शौन्दर्यकरण र विकासमा सहकार्य गर्ने निर्णय गरेको छ ।
रानीमहलको दरबार तानसेन नगरपालिकामा पर्ने र आगन तथा अन्य भाग बगनासकाली गाउँपालिकामा पर्ने भएकाले दुवै स्थानिय तह मिलेर रानीघाट क्षेत्रको विकास गर्ने निर्णय गरेको हो । तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले पुरातात्विक धरोहरको रुपमा रहेको रानीघाट दरबारको थप विकास गर्न दुवै पालिका सकारात्मक भएको बताउनुभयो । नगरप्रमुख शाहीले पाल्पालाई चिनाउने रानीमहलको विकास गर्न दुई पालिका सक्षम रहेको बताउनुभयो ।
तानसेन नगरपालिकाले यसअघी नै दरबारलाई संग्रहालयको रुपमा परिणत गरिसकेको छ । नगरपालिकाले थप सौन्दर्यकरण गर्न दरबार परिसर सरसफाई, लाईटिङ, पानीका फोहरा, सौचालय व्यवस्थापन, फुलबारी, खानेपानीको व्यवस्थापनलगाएतका कार्य गरिसकेको छ ।
बगनासकाली गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले रानीघाट दरबार संरक्षण तथा संवद्र्धन गर्न गाउँपालिका लागीपर्ने बताउनुभयो । अध्यक्ष बस्यालले दुवै पालिका लागीपरेर रानीमहलको व्यवस्थापन गर्दा पर्यटनको विकास हुने र आम्दानीको श्रोत पनी बढ्ने बताउनुभयो । रानिघाट दरबार संरक्षण तथा संवद्र्धनका लागी संयूक्त कार्यदल गठन गरेको छ ।
जसको संयोजकमा तानसेन नगरपालिका उपप्रमुख लक्ष्मीदेवी पाठक, सहसंयोजक बगनासकाली गाउँपालिका उपाध्यक्ष सरस्वती चिदी रहनुभएको छ । त्यस्तै सदस्यहरुमा तानसेन नगरपालिकाका प्रवक्ता दामोदर घिमिरे, बगनासकाली गाउँपालिकाका प्रवक्ता लक्ष्मी प्रसाद अधिकारी, तानसेन १३ का वडाध्यक्ष टुक प्रसाद भट्टराई, बगनासकाली ७ का वडाध्यक्ष गुन बहादुर बुढाथोकी, तानसेनका प्रमुख प्रसासकिय अधिकृत पिताम्बर पाण्डेय, बगनासकालीका प्रमुख प्रसासकिय अधिकृत बिष्णु घर्ती, बगनासकालीका कर्मचारी कृष्ण बहादुर थापा र सदस्य सचिव तानसेन नगरपालिकाका बरिष्ठ अधिकृत दुर्गा बहादुर थापा रहनुभएको छ ।
रानिघाट दरबारको लाभ जोखिममा संयूक्त हिस्सेदारी रहने समेत बैठकले निर्णय गरेको छ ।