तानसेन नगरपालिकाको जमानीमा युवा उद्यमीलाई बिना धितो कर्जा

विजयकुमार बौडेल

माघ ४ – तानसेन नगरपालिका जमानी बसेर २७ युवा उद्यमीलाई सहुलियतपुर्ण कर्जा उपलब्ध गराएको छ ।

विभिन्न व्यवसाय गर्ने नगरपालिका भित्रका २७ युवा उद्यमीको जमानी बसेर ग्लोबल आईएमईको वित्तिय साझेदारीमा सहुलियतपुर्ण कर्जा उपलब्ध गराएको हो । नगरपालिकाले महिला उद्यमीलाई ४ प्रतिशत र पुरुष उद्यमीलाई ५ प्रतिशतमा ३ देखि ९ लाख सम्म कर्जा उपलब्ध गराएको हो ।

तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले युवाहरुलाई उद्यमी बन्न प्रोत्साहन गर्ने परिपाटी नभएको भन्दै नगरपालिकाले युवालाई आर्थिक रुपले सम्पन्न बनाउने लक्ष्यले कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । नगरप्रमुख शाहीले सिंगो सरकार जमानी बसेको भन्दै कर्जाको सदुपयोग गरि नियमित किस्ता तिर्न र ईमान्दारीता देखाउन अनुरोध गर्नुभयो ।

“व्यवसाय गर्दै गर्दा समस्या आएमा साझेदार संस्था संग सहयोग माग्नुस ।” नगरप्रमुख शाहीले भन्नुभयो । “यति धेरै युवाहरुलाई उद्यमी बनाउन पाउनु नगरपालिकाको गौरव हो । यसलाई कायम राख्नुहोला ।” युवा उद्यमीको व्यवसाय सफल हुँदा नगरपालिकाको अर्थतन्त्र नै बलियो हुने नगरप्रमुख शाहीको भनाई थियो ।

ग्रामिण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लिला बहादुर कार्कीले तानसेन नगरपालिकाले महत्वपुर्ण र ऐतिहासिक कामको सुरुवात गरेको बताउनुभयो । कार्कीले वित्तिय साझेदार संग भएको सम्झौता अनुसार नै काम गर्न अनुरोध गर्नुभयो । देशमै बसेर आफू, आफ्नो परिवार र समाज रुपान्तरण अभियानमा लाग्ने व्यवसायीहरुलाई स्थानिय तह र विभिन्न संघसंस्थाले साझेदारी हुनुपर्ने कार्कीको भनाई थियो ।

कार्यक्रम संयोजक लेखनाथ अधिकारीले पुँजीको अभावले युवाहरु उद्यमी बन्न नसकेको भन्दै नगरपालिका जमानी बसेर बिना धितो सहुलियतपुर्ण कर्जा वितरण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डेयले कृषि र पशुपालनको क्षेत्रमा काम गर्ने युवा उद्यमीलाई नगरपालिकाले प्राथमिकता दिएर काम गरेको बताउनुभयो ।

पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्माले लिएको कर्जा उद्देश्य अनुरुप खर्च गर्न युवा उद्यमीहरुलाई अनुरोध गर्नुभयो । वित्तिय साझेदार संस्था ग्लोबल आईएमई बैंक तानसेन शाखाका प्रमुख बीर बहादुर सारुले उद्यमशिलता भनेकै व्यवसाय भएको भन्दै व्यवसाय सफल बनाउन सहि ठाउँमा लगानी र त्यसको निरन्तर मेहेनत आवश्यक हुने बताउनुभयो ।

तानसेन नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग, ग्लोबल आईएमई बैंकको बित्तिय साझेदारी र ग्रामिण आर्थिक विकास संघ रेडाको सहजिकरणमा कार्यक्रम भएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय