तिन्टीआँप र एमाले जिल्ला अधिवेशन
झपेन्द्र जिसी –
तीनवटा छुट्टाछुट्टै आँपहरू एक्कै ठाउँमा टुसाएर, हुर्किएर, समरथ भएर तीनखालको आम्रफल (mangoes) फलाउने तृआम्रवृक्षको नाम हो तीनवटीआँप=तिन्टीआँप हो।
यी आँपका रूखहरूलाई स्थानीय लोकसमुदायले स्त्रीलिङ्गीय सूचक सम्बोधन गरी तिन्टीआँप शब्दले सम्बोधन गर्दै आएका छ्न्। अर्थात् तीनवटा आँप नभनी तीनवटीआँप = तिन्टीआँप भन्दैआएकाछन्। यो आँप यो लेख्नेमान्छेको त निजी आँप भने पनि हुन्छ।किनभने यो मान्छे र यो मान्छेको परिवारले तिन्टीआँपलाई २०२३ सालसम्म आफ्नो निजीसम्पत्ति सरह एकलौटी रूपमा भोगचलन गर्यो, आँप कति खायो!कति खायो ! बयान गरी साध्य छैन।डोकाका डोका आँप बटुलेर आफ्नो घर बेडेम(बडेआँप मदनपोखरा ) लग्यो ,खायो हसुर्यो। सुगाकौवाले मकै खाइसखाप पार्ला भनेर एका बिहानै यो मान्छे गाउँबाट बेसी जान्थ्यो।सुगाकौवा त धपाउँथ्यो तर ढेंडुवा बांदरले झैँ अटेसपटेस हुने गरि आँप त कति खान्थ्यो खान्थ्यो।
यो अचाक्लीको बयन गर्न हज्जार जिब्रा भएका शेषनागले पनि सक्ने छैनन्।
कारण के हो? यो आँपको उत्तरपूर्वतर्फ यो मान्छेको पूर्खौली वारी थियो। बारीको नाम बिर्तावारी हो ।बिर्ता पाएको वारी! वीर सैनिकहरूहरूलाई राज्यको तर्फबाट प्रदान गरिएको जग्गा! बारीको बीच भागमा सप्ताह मण्डप पनि थियो। बारीको ठूलो पाटो।
तर हुतिहारा यो घर्तीक्षत्री परिवारले यो बारी तिन्टा हजारमा बेच्यो।
यसको करिब ७५ मिटर दक्षिण अर्को प्रसिध्द आँपको रूख छ त्यसलाई कुसुण्डे वा कुसुन्ने आँप भनिन्छ।एउटै कुसुन्नेआँपका ४/५ थरी स्वादका आँप फल्छन्। त्यस खाले आँप पेटभरि खाइहुर्केको भाग्यमानी एउटा जुवाँमर्द त मै हुँ।
कुसुन्ने आंपले साम्राज्य जमाउन सकेन।तर मेरो तिन्टीआँपले साम्राज्य जमायो।यो चौरको नाम नै तिन्टी आँप चौर भयो।हुँदाहुँदा अहिले त गाउँबस्तीको नाम नै तिन्टी आँप भएको छ।
यो तिन्टीआँप चौरले हुकुमी शासन व्यवस्थालाई चिहान बनाउन अनेरास्ववियुका विद्यार्थीको धेरै पटक पिकनिक्को निहुँ बनाएर भाषण फुकेको छ, अखिल नेपाल महिला सङ्घको भेला गरेर भाषण फुकेको छ, एमालेले भाषण फुकेको छ।यो एमाले गाउँ हो सबैलाई थाहा छ। यो गाउँ कसरी धेरै उत्पादन गर्न सकिन्छ भनेर स्वदेशीविदेशी पर्यटकहरूलाई मोहनी लाउन सफल सिकाउन सक्ने कृषक गुरु गाउँ हो।भन्न धेरै छ लेख्न धेरै बांकी छ।अहिले यही गाउँ यही ठाउँ तिन्टीआंपमा नेकपा एमाले पाल्पा को जिल्ला अधिवेशन आज हुँदैछ।यही ठाउँका कम्युनिस्टहरू र सहयोगीहरूको व्यवस्थापनमा अधिवेशन हुँदैछ।होम स्टे= घरघरमा गाँस घरघरमा बासको व्यवस्था कसरी गरिंदि रहेछ आज पनि देख्न सकिन्छ।
तीनवटी आंपहरू एकै ठाउँमा ठिङ्ग उभिएर एकता प्रदर्शन गरिरहेका छन्।फुट्नेहरूलाई टुट्नेहहरूलाई तीनवटी दिदी बहिनी झैँ बनेर एक हुन एकताबध्द हुन आह्वान गरिरहेका छन् ।एकपटक आएर हेर तीनवटी आँपको मिलनलाई तिन्टी आँपको एकतालाई।
(प्रस्तोता बेडेमको आँपमाथि माहिलो
उर्फ झपेन्द्र जी सी) पौष २३,२०७८

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय