१७ पौष – नेकपा एमाले पाल्पाका पूर्वजिल्ला अध्यक्ष एवं पूर्व सांसद यादवबहादुर रायमाझीले विगतदेखि नै पार्टीमा चरम विकृति र बिसंगति बढेको र त्यसलाई सच्याउन प्रयास गरेपनि असफल भएको उल्लेख गर्नुभएको छ ।
रायमाझीले नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको जानकारी गराउँदै समाजवादीले दिने जिम्मेवारी इमान्दारिपूर्वक निभाउने बताउनुभएको छ । रायमाझीले तानसेनमा पत्रकार सम्मेलन गरी एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विधि विधान र कम्युनिष्ट आचारणविपरीत अधिनायकवादी सोंचअनुसार सञ्चालन गरेकाले एकीकृत समाजवादी रोजेको बताउनुभएको जिल्ला अध्यक्ष कमल पाण्डेयले जानकारी दिनुभयो ।
पाल्पामा एमालेको दुई कार्यकाल अध्यक्ष रहेका रायमाझी तत्कालीन नेकपामा विवाद हुंदा माधव–प्रचण्ड पक्षमा हुनुहुन्थ्यो । तर एमाले विभाजनपछि भने उहाँ एमालेमै रहनुभएको थियो । उहाँ एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्य हुनुहुन्थ्यो । एमाले जिल्ला कमिटी सदस्यहरु धनबहादुर रायमाझी, देवीप्रसाद पौडेल, महेश बराल संगै ६६ जना एकीकृत समाजवादीमा प्रवेश गरेका एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले बताउनुभयो ।
बराल गत स्थानीय चुनावमा रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा उम्मेदवार भएर झिनो मतले पराजित हुनुभएको थियो । कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य सोम प्रसाद पाण्डेयले देशमा विधि र विधान स्थापित गराउन नेकपा एकिकृत समाजवादी गठन भएको बताउनुभयो । पाण्डेयले नेपाली कम्यूनिष्ट आन्दोलनमा दुखद क्षण आएको बताउनुभयो ।