विजयकुमार बौडेल, पाल्पा
८ पौष – तानसेन नगरपालिका वडा नं १२ लुहुङका ४० बर्षिय बद्री लोहागुनलाई लकडाउनले मरौं कि भागौं बनायो । गाडी व्यवसाय गर्ने लोहागुनलाई लकडाउनका कारण व्यवसाय ठप्प भएपछी गाडीको किस्ता तिर्न र घर चलाउन मुस्किलमात्र भएन, गाउँ र देश नै छाडेर भागौं कि झैं लाग्यो ।
बर्षौं विदेश बसेका लोहागुनलाई गाउँ छाडेर कहिँ जान पनि मन लागेन । विदेशमा बसेर त्यहीँ जस्तो होला भनी रिनधन गरेर गाडी व्यवसाय गर्न सुरु गरेका लोहागुन सफल हुन सक्नुभएन । त्यसमाथी लकडाउनले त उहाँलाई निरास नै बनायो । लोहागुन भन्नुहुन्छ :- “विदेशको जस्तो सिस्टम होला भएर यहाँ आएर गाडी व्यवसाय गरें । कहाँ त्यस्तो हुँदो रैछ र ? नेपालमा व्यवसायिलाई सहज वातावरण छैन । यहाँको सिस्टममा नै समस्या छ ।”
लकडाउनका कारण घर फर्केर बस्नुभएका लोहागुनलाई घरमा भएका दुईवटा गाईले पाठ सिकायो । उहाँकी श्रीमती सीता लोहागुनले घरमा पाल्नुभएको २ वटा दुहुना गाईले परिवार चलिरहेको थियो । त्यसपछि लोहागुनलाई गाई थपेर व्यवसाय गर्ने हौसला मिल्यो । लोहागुनले स्थानिय सहकारी बाट रिण लिएर गाई थप्नुभयो । अहिले लोहागुन संग १९ वटा गाई छन । होलिस्टिन, जर्सी लगाएत अन्य धेरैजसो गाई दुहुना छन ।
“गाई पाल्न लागेको करिव डेढ बर्ष भयो । अहिले सहकारिको रिण पनि तिरेर सक्न लागेको छु । थोरै मात्र बाँकी छ । अब छिट्टै सकेर गाई आफ्नै बनाउँछु ।” लोहागुनले भन्नुभयो :- “दिनको १७० लिटर सम्म दूध उत्पादन गरेको छु । धेरै जसो गाई लैनो हुँदा महिनामा २ लाख २५ हजार रुपैंया सम्म बुझेको छु ।” घाँस पराल किनेरै गाईपालन गर्नुभएका लोहागुनले एक जनालाई रोजगारी समेत दिनुभएको छ ।
लोहागुन दम्पतीका ४ जना छोराछोरी छन । एउटी छोरीले भैरहवा क्याम्पस पढ्छिन भने अरुले गाउँमै पढ्छन । लोहागुनलाई अहिले छोराछोरीको घरखर्च, पढाई लगाएत सबै खर्चका लागि सहज भएको छ ।