
विजयकुमार बौडेल, पाल्पा
४ पौष – पारिवारिक निजि वन संघ नेपाल जिल्ला शाखा पाल्पाले निजि वनका साल बिक्री वितरण गर्न पाउनुपर्ने कानुन निर्माण गर्नुपर्ने माग राखेको छ ।
नीति निर्माण गर्ने तहमा रहेका जनप्रतिनिधिहरुलाई माथागढी १ को निजि वनको अध्ययन भ्रमण गराउँदै संघले आम्दानीको श्रोतको रुपमा निजि वनका काठ सहज रुपमा विक्री गर्न मिल्ने कानुन बनाउन माग गरेको हो । संघका जिल्ला अध्यक्ष तुल्सिराम भुषालले आफ्नो लालपुर्जामा भएको काठपात विक्री गरेर जिविका चलाउन सरकारले सहज बनाउनुपर्ने बताउनुभयो ।
संघका केन्द्रिय सदस्य कल्पना भण्डारीले आफ्नो सम्पती भित्र भएको काठ बेचेर पारिवार चलाउन सरकारले कानुन बनाएर सहज बनाउनु पर्ने बताउनुभयो । माथागढी गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले निजि वन महासंघको माग जायज भएको भन्दै स्थानिय तहले गर्नुपर्ने कार्यको लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
जिल्ला समन्वय समितिकी कार्यवाहक प्रमुख मिरा मरासिनिले नियम कानुन भन्दा माथी कोहि नहुने भन्दै बाधा परेका बिषयमा कानुन निर्माण गर्न पहल गर्ने बताउनुभयो । प्रदेश सांसद नारायण प्रसाद आचार्यले धेरैजसो नागरिकको निजि वन भएकाले कानुन निर्माण नहुँदा आम्दानीको श्रोतको रुपमा प्रयोग गर्न कठिन भएको बताउनुभयो ।