विजयकुमार बौडेल – असोज १३ – तानसेन नगरपालिका अर्गलीका व्यापारी तथा व्यावसायीले उपभोक्तालाई म्याद नाघेका अखाद्य पदार्थ तथा श्रृङ्गारका सामान बिक्री गरेको फेला परेको छ ।
अर्गलीका केही व्यापारी र व्यवसायीले बिक्री वितरण गर्न नहुने म्याद नाघेका र बिग्रिएका अखाद्य पदार्थ र श्रृङ्गारका सामग्री बिक्री गरेको फेला परेको हो ।
जिल्लास्थित प्रशासन कार्यालय, तानसेन नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघ तथा पत्रकारको संयुक्त अनुगमन टोलीले अर्गलीमा गरेको अनुगमनका क्रममा अखाद्य तथा म्याद नाघेका सामग्री फेला परेको हो । अर्गलीमा खाद्यान्न पसल, खुद्रा पसल, कस्मेटिक पसल, निर्माण सामग्री पसल, फलफूल तथा मासु पसलमा अनुगमन गरिएको तानसेन नगरपालिकाका सुचना अधिकारी तथा अनुगमन अधिकृत दुर्गा बहादुर थापाले जानकारी दिनुभयो ।
अनुगमन टोलीले केही वर्षअघि नै म्याद गुज्रेका, नरिवल जुस, कुरकुरे, कुकिज, मसला, फ्रुटी, ओरेन्ज जुस, बदाम जुस, चामल, चिउरा लगाएतका सामग्री व्यापारीले उपभोक्तलाई बिक्री गरेको फेला पारेको जिल्ला प्रशासन कार्यालय पाल्पाका यज्ञश्वर पन्थीले जानकारी दिनुभयो ।
प्रयोगका लागि उपयुक्त नभएका सामग्री जफत गरेर नष्ट गरिएको उहाँले बताउनुभयो । अनुगमनका क्रममा मुल्यसूचि टाँस नभएको, पसल दर्ता नगरी संचालन गरेको, होडिङ् बोर्ड नराखेको जस्ता कमजोरी भेटिएको तानसेन नगरपालिकाका सामाजिक विकास अधिकृत भरत आचार्यले जानकारी दिनुभयो ।
घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्योग अधिकृत देवीराम भण्डारीका अनुसार अर्गलीको विभिन्न स्थानका करिव ३ दर्जन पसलमा अनुगमन गरिएको थियो ।
घरेलु कार्यालयले तयार गरेको कार्ययोजना अनुसार उपभोक्ताको खाद्य अधिकार स्थापित गर्न र बजारमा स्वस्थ प्रतिष्पर्धा कायम गर्न बजार अनुगमन गरिएको उहाँले बताउनुभयो । पाल्पामा विगत लामो समयदेखि निषेधाज्ञा भएका कारण गोदाम तथा पसलमा स्टोर भएका सामग्री बिक्री भएको पाइएको अनुगमनमा सहभागीहरुले बताएका छन् ।