८ भाद्र – प्रभाष सहलगानी खानेपानी उपभोक्ता समितिले योजना हस्तान्तरणको काम अन्तिम चरणमा पुगेको बताएको छ ।
अगुवा उपभोक्ताहरुको भेला गर्दै समितिले योजना हस्तान्तरणको काम अन्तिम चरणमा पुगेको बताएको हो । समितिले केही झिना काम बाहेक अन्य काम सम्पन्न भएको भन्दै अव समिति मातहतमा योजना लिने अन्तिम चरणमा पुगेको बताएको हो ।
उपभोक्ता समितिकी अध्यक्ष राजेन्द्र लक्ष्मी गैरेले ७ सय भन्दा बढी उपभोक्ता रहेको यस योजनामा उपभोक्ताका तर्फ बाट केही गुनासो आएको भन्दै उहाँहरुको गुनासो समाधान गरिने बताउनुभयो । छलफल कार्यक्रमलाई सम्बोधन गर्दै तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले सहलगानीमा आधारित यस योजनामा उपभोक्ता र समितिको धेरै मेहेनत परेको बताउनुभयो । प्रमुख शाहीले नागरिकलाई पानी खुवाउनु स्थानिय तहको अनिवार्य जिम्मेवारी भएको भन्दै अप्ठेरो परेको बेला समितिलाई नगरपालिका जुनसुकै बेला सहयोग गर्न तयार रहेको बताउनुभयो ।
तानसेन नगरपालिका वडा नं. १० का अध्यक्ष लोचन प्रसाद तिमिल्सेनाले ठेकेदार कम्पनीले पुरा गर्नुपर्ने कामहरु पुरा भएको नभएको ध्यान दिन समितिलाई अनुरोध गर्नुभयो । वडाध्यक्ष तिमिल्सेनाले उपभोक्ताको गुनासो सुनि त्यसलाई छिटो भन्दा छिटो समाधान गर्न समेत अनुरोध गर्नुभयो ।
तानसेन नगरपालिका वडा नं. ७ का वडाध्यक्ष मुक्तिराम जिसीले ठेकेदार कम्पनीले गर्नुपर्ने केही कामहरु अझै बाँकी भएकाले त्यो काम पुरा भएपछी मात्र योजना हस्तान्तरण गर्न अनुरोध गर्नुभयो । वडाध्यक्ष जिसीले समिति र ठेकेदार कम्पनीले उपभोक्ताहरुको घरमा सहज रुपमा पानी आउने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभयो ।
समितिका सचिव मोहन गैरेले सबै उपभोक्ताहरुको चित्त बुझाएर काम गर्ने बताउनुभयो । गैरेले काम गर्दा कहीँ न कहीँ सानाठुला त्रुटी हुने भन्दै त्यसलाई समाधान गरेर मात्र अघि बढ्ने बताउनुभयो । यस खानेपानी सहलगानी योजनाले ३ वटा सिस्टम मार्फत वडा नं. ७ र १० का नागरिकको घरमा खानेपानी वितरण गरिरहेको छ ।
तानसेन वडा नं. १० का वडा सदस्य हिमलाल पंगेनीले उपभोक्ताहरुको आवाज बनेर जनप्रतिनिधिले समस्या उठान गरेको र समाधान गरिनुपर्ने बताउनुभयो ।