८ भाद्र – तानसेन नगरपालिकाले कविवर माधव प्रसाद देवकोटाको शालिक निर्माण गर्ने भएको छ ।
नगरपालिकाले पाल्पामा जन्मीएर साहित्यको माध्यमबाट देशव्यापी रुपमा परिचित देवकोटाको शालिक निर्माण गर्ने भएको हो । तानसेन नगरपालिका वडा नं. ३ ठुटेपिपलमा देवकोटाको शालिक निर्माण गर्न लागेको हो । साहित्यको माध्यमबाट पाल्पालाई चिनाउने देवकोटाको शालिक निर्माण गर्न तानसेन नगरपालिकाले १० लाख रुपैंया बजेट विनियोजन गरेको छ ।
कविवर माधव प्रसाद देवकाेटाकाे तानसेन स्थित जन्मघर
तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले साहित्यको माध्यम बाट देशैभर पाल्पालाई चिनाउन सफल देवकोटाको सम्मानका लागी नगरपालिकाले उहाँको शालिक निर्माण गर्न लागेको बताउनुभयो । मेयर शाहीले उहाँको शालिक संगै विभिन्न कार्यक्रम गर्न मिल्ने सभास्थल समेत बनाउन लागीएको बताउनुभयो । शाहीले चोक देखी उहाँ जन्मिएको घर सम्मको बाटोलाई कविवर माधव प्रसाद देवकोटा मार्ग नामाकरण गर्ने समेत बताउनुभयो ।
देवकोटाका सुपुत्र कलानिधी देवकोटाले पिता माधव प्रसाद देवकोटाले नेपाली साहित्यमा अग्रणी भुमिका खेलेको बताउनुभयो । देवकोटा पाल्पामा रहँदा देश तथा विदेश बाट आउने विभिन्न साहित्यप्रेमी विद्यार्थीहरुले उहाँको बारेमा जानकारी लिन आउने स्मरण गर्नुभयो ।