२५ श्रावण, पाल्पा । पर्यटकीय क्षेत्र विस्तार भएको पाल्पाको पूर्वखोला गाउँपालिका वडा नं. २ जल्पा ढोलीमारामा सामूहिक किवी खेती विस्तार गरिएको छ ।
समुदायकै सक्रियतामा २० हेक्टर क्षेत्रफलमा रहेको अम्रिसो खेतीलाई पनि गाउँकै गहना र आर्थिक स्रोतको रूपमा लिन सकिन्छ ।
गत वर्ष ८ रोपनी क्षेत्रफलमा एक सय ८० बोट किवीको बिरुवा लगाईएको छ । किवीले फल दिन ३ देखि ४ वषसम्र्म लाग्ने भएकाले विरुवाको बीच बीचमा ब्रोकाउली, बान्दा, खुर्सानी जस्ता घुसुवा नगदे बाली लगाईएको छ ।
६३ जना कृषकहरू सहभागी रहेको समूहमा धेरै जसो जनश्रमदान र गाउँपालिका कृषि शाखाले बिरुवा सहयोग गरेको समूहका अध्यक्ष पहलसिंह घर्तीले जानकारी दिनुभयो । उत्पादन भएको किवी ३ सय देखि ८ सय रूपैयाँ प्रति केजीमा बिक्री हुने बताईएको छ ।
निम्न आर्थिक अवस्था हुनेको लागि घरखर्चमा सघाउ पुग्ने, श्रम गर्नेहरूको लागि स्वरोजगारको माध्यम बन्ने, पर्यटकहरुका लागि मनमोहक बनाउने लक्ष्य रहेको अध्यक्ष घर्तीले जानकारी दिनुभयो ।
तस्वीरः माया राना